तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास क्षेत्रका बासिन्दा दूध उत्पादन सबल बन्दै गएका छन् । यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेका छन् । यसले गर्दा यस क्षेत्र नमुना बन्नुका साथै मुहारमा परिवर्तन आएको छ । आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानलाई उत्प्रेरण जगाउने कार्य गर्दै आएका छन् ।
यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि पनि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् । दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घरखर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् । कृषकको खरिद मूल्यअनुरूप अहिले दैनिक एक लाख तीस हजार रुपैयाँ मूल्य बराबरको दूध संकलन हुने गरेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए । उनले भने, ‘थोरैमा मासिक १५ हजारदेखि दुई लाख रुपैयाँसम्म कमाउने दूध व्यवसायी रहेका छन् ।’ एउटै गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ ।
संस्थामा आबद्ध एक सय जना सेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गरी बिक्री गर्दै आएको संस्थाका व्यवस्थापक साँखीले बताए । यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट छ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ । पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझ बढी फाइदा लिन सक्ने उनी बताउँछन् । दूधका साथै दही, पनिर, नौनी र घ्यु पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्षरूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् ।
सोही वडा निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका छन् । गाडी व्यवसायी समेत रहेका बाँस्तोलाले गाडी व्यवसाय छाडेर पुनः गाउँ फर्किएर पशुपालन पेसामा लागेका हुन् । उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा लैना गाईबाट दैनिक दुई सय बढी लिटर दूध बिक्री गर्दै आएको उनले सुनाए । ‘सुरुमा एक करोडको लगानी भएको छ’, उनले भने, ‘मासिक चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक दुई लाख कमाउँदै आएको छु ।’