वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघ (ईयू)बाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा पनि २५ प्रतिशत कर लगाउने धम्की दिएका छन् । ट्रम्पले यो कर आगामी जुन १ देखि लागू हुने सङ्केत गरेका छन् ।
युरोपेली संघसँगको व्यापार सम्झौता अगाडि नबढेकोमा ट्रम्पले असन्तुष्टि जनाउँदै यस्तोे चेतावनी दिएका हुन् । ईयूले आपसी सहमतिमा सबै करहरु शून्यमा झार्ने प्रस्ताव गरेको छ भने ट्रम्पले सबै वस्तु आयातमा १० प्रतिशत कर लगाउने अडानमा छन् । उनले ईयूसँग कुनै पनि सम्झौता नगर्ने बताइसकेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘हाम्रो वार्ता युरोपेली संघसँग अघि बढिरहेको छैन । त्यसैले, म आगामी जुन १ देखि युरोपेली संघका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु । तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन ।’
यस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जनाउँदै यदि उक्त कम्पनीले अझै पनि आफ्नो फोन एसियामा उत्पादन गर्न जारी राखेमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन् । यससँगै एप्पल कम्पनी पनि अन्य ठूला अमेरिकी कम्पनीजस्तै राष्ट्रपतिको नीतिअन्तर्गत दबाबमा परेको छ । ती कम्पनीहरूमा अमेजन, वालमार्टलगायत रहेका छन्, जसले ट्रम्पको शुल्क नीतिका कारण उत्पन्न भएको अनिश्चितता र मूल्यवृद्धिको दबाब भोगिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले युरोपेली संघसँगको व्यापार वार्ताबाट कुनै सन्तोषजनक प्रगति नभएको बताउँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गगरेका छन् । युरोपेली पक्षले परस्पररूपमा सबै वस्तुमा कर हटाउने प्रस्ताव गरे पनि ट्रम्पले अधिकांश वस्तुमा न्यूनतम १० प्रतिशत शुल्क कायम राख्नुपर्ने अडान लिँदै आएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका केही वाक्यहरूले समेत विश्वको आर्थिक अवस्थालाई प्रभावित पार्ने खालको प्रभाव देखाएको छ । यद्यपि, उनका शुल्क नीतिहरूले अहिलेसम्म उनले प्रतिबद्धता गरेको घरेलु उत्पादनको पुनः स्थापनामा अपेक्षित परिणाम दिन सकेका छैनन् ।
धम्कीबाट डराउँदैनौँ – ईयू
युरोपेली संघका व्यापार प्रमुख मारोस सेफकोभिकले अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीबाट नडराउने बताएका छन् । उनले अमेरिकासँग ईयूले सम्मानका साथ व्यापार गर्न चाहेको बताए । ईयू र अमेरिकाबीच एक वर्षमा नौ सय अर्ब डलरभन्दा बढीको पारस्परिक व्यापार हुनेगरेको छ ।