काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य–मुख्य तथ्याङ्कहरूको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण बीमा प्रतिविम्ब प्रकाशन गर्न सुरु गरेको छ ।
बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क सङ्कलनलगायत बीमा क्षेत्रका प्रमुख सूचकहरूको अध्ययन गरी विश्लेषणात्मक तथ्याङ्क संस्करण मासिकरूपमा प्रकाशन गर्न सुरु गरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करण प्रकाशन गर्न सुरु गरिएको जानकारी दिए । अध्यक्ष ओझाले बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणबाट बीमक, नीतिनिर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई बीमा क्षेत्रसम्बन्धी समग्र जानकारी प्राप्त हुने र यसको नियमित प्रकाशनबाट बीमा क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकताहरू पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्याङ्क संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क सङ्कलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी संख्या, बीमकको लगानी विवरण, कुल बीमालेख संख्या, बीमाशुल्क सङ्कलन र सोल्भन्सी अनुपातलगायतका विवरण समावेश गरिएका छन् ।
यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तमा नेपाल बीमा प्राधिकरणबाट सम्पादन भएका काम कार्यवाहीसहित मुख्य उपलब्धिहरू बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणमा समावेश गरिएका छन् । जसअनुसार, प्राधिकरणबाट नियामकीय काम कारबाही, दाबी उजुरी दर्ता तथा फछ्र्यौट, बीमकहरूको स्थलगत निरीक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र बीमालेख स्वीकृतिलगायतका मुख्य विषयहरू विश्लेषणात्मक संस्करणमा समावेश गरिएका छन् ।