काठमाडौं । पछिल्ला वर्षहरूमा यातायात क्षेत्रका व्यवसायीहरूले ईभी अर्थात् इलेक्ट्रिक भेइकलमा लगानी वृद्धि गरिरहेका छन् । सरकारले ईभीलाई प्राथमिकता दिने नीति लिएसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गर्नेहरू ईभीमा लगानी गर्न थालेका हुन् ।
कोरोनापछि शिथिल बनेको बजारमा ईभीमा लगानी गर्नेहरू बढेसँगै बैंकहरूको ऋण प्रवाह समेत बढेको छ । बजारमा ऋणको प्रवाह बढ्दा एकातिर बैंकिङ क्षेत्र अझै लगानी बढाउने तयारीमा देखिन्छ भने अर्कोतिर व्यवसायमा लगानी बढाउनेहरू समेत उत्तिकै देखिन्छन् । पछिल्ला वर्षहरू ईभीमा गरेको लगानीले राम्रो प्रतिफल दिने गरेको व्यवसायीहरू बताउँछन् । राम्रो प्रतिफल पाइने, बचत हुने र त्यसबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सकिने भएपछि ईभीमा लगानी बढिरहेको छ । धेरै व्यवसायीहरूले व्यावसायिक कर्जा निकालेर ईभीमा लगानी गरेको र किस्ताका लागि कुनै समस्या नभएको नुवाकोटको बट्टार शाखामा कार्यरत एनएमबी बैंकका ब्रान्च म्यानेजर जीवन बोगटी बताउँछन् । व्यवसायीबाट राम्रो प्रतिफल प्राप्त गरेका कारणले नै कतिपय व्यवसायीहरूले समय अगावै किस्ता र कर्जा चुक्ता गर्ने गरेको उनले सुनाए ।
बोगटी भन्छन्, ‘हाम्रो बैंकबाट ऋण लिएर धेरैले ईभीमा लगानी गर्नुभएको छ । उहाँहरूको कुराअनुसार रिटर्न राम्रै रहेको बुझिन्छ । त्यही भएर होला हामीले ईभीमा लगानी गर्ने कुनै व्यवसायीले कर्जा र किस्ता तिरेन भन्ने गुनासो गर्नुपरेको छैन, किस्ता किन आएन भनेर कसैलाई फोन गर्नुपरेको छैन ।’ ईभीमा धेरै बैंक तथा वित्तीय संस्थाहरूको लगानी रहेको छ । ऋण लिएर ईभीमा लगानी गर्नेहरूबाट किस्ता तिर्न समस्या परेको भन्ने आफूहरूले सुन्न नपरेको उनको दाबी छ ।
विद्युतीय यातायातका क्षेत्रमा लगानी गर्नेहरू कोही व्यवसायी बन्न त कोही स्वरोजगारका रूपमा लगानी गरिरहेका छन् । बैंकबाट ऋण लिएर सार्वजनिक यातायातका रूपमा ईभीमा लगानी गरेका नुवाकोटका श्रीराम खतिवडा ईभी गाडीबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । सुरुमा लगानी धेरै गर्नुपरेको भए पनि अन्य खर्च नहुँदा घर खर्च चलाउन, बैंकको किस्ता र ब्याज तिर्न कुनै समस्या नभएको उनले बताए । खतिवडा भन्छन्, ‘ईभी गाडीमा सुरुमा लगानीचाहिँ धेरै नै गर्नुपर्छ । तर धेरै लगानी गरे पनि अन्य खर्च नहुने भएकाले किस्ता र व्याज तिर्नचाहिँ कुनै समस्या छैन । हामीले बैंकको किस्ता र व्याज तिरेर पनि मासिक ७०÷८० हजार बचत गरिरहेका छौँ । यसरी नै तिर्दै जाने हो भने पाँच वर्षमा गाडी समेत आफ्नो हुन्छ भने घर खर्च पनि राम्रोसँग चलिरहेको हुन्छ ।’
बैंकबाटै ऋण लिएर स्वरोजगार व्यवसायी बनेका धादिङका जीवन श्रेष्ठ पनि ईभी गाडीको आम्दानी राम्रो भएको बताउँछन् । सोही प्रकृतिको अन्य गाडी किन्दा पनि मूल्य उस्तै पर्ने तर डिजेल वा पेट्रोलमा खर्च धेरै हुने भएकाले बचत नहुने श्रेष्ठले बताए । पहिले इन्धनबाट चल्ने सार्वजनिक सवारीको धनी रहेका श्रेष्ठले विगत डेढ वर्षदेखि ईभीमा लगानी गरेको र डेढ वर्षको अवधिमा झन्डै ३५ प्रतिशत सावाँ र व्याज घटाइसकेको बताए ।
जीवन भन्छन्, ‘ईभी गाडी कति वर्षसम्म चल्छ भनेर अहिले नै भन्न सकिँदैन । तर अहिलेका लागि ईभी गाडी वरदान जस्तै भएको छ । इन्धनमा खर्च नहुने, मर्मतमा खर्च नहुने भएकाले आम्दानी जति सबै बचत नै हुन्छ ।