काठमाडौं । आइएमई समूहअन्तर्गतको अशोक एलटी इन्जिनियरिङ सर्भिसेज लिमिटेडद्वारा आयोजित ‘सर्भिस सम्राट २०२५’ को उपाधि नारायणबहादुर पौडेलले जितेका छन् । काठमाडौंमा हालै सम्पन्न ग्रान्ड फिनालेमा पौडेलले ‘सर्भिस सम्राट २०२५’ को उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । फिनालेमा देशभरिका विभिन्न शाखाबाट ९० जना टेक्निसियन र इलेक्ट्रिसियनहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा इलेक्ट्रिसियन च्याम्पियनको उपाधि ओमप्रकाश प्रसाद पटेलले प्राप्त गरे । साथै, उनले नगद २० हजार रुपैयाँ जितेका छन् । त्यसैगरी, टेक्निसियन फस्र्ट रनर–अपको उपाधि रुपास लिम्बुले प्राप्त गर्दै १५ हजार रुपैयाँ र टेक्निसियन सेकेन्ड रनर–अप सुवास केसीले जित्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिता लिखित, मौखिक र प्रायोगिक गरी तीन चरणमा सञ्चालन गरिएको थियो । साथै, सहभागीहरूको ज्ञान र प्राविधिक सिपको समेत परीक्षण गरिएको थियो । अन्तिम चरणमा १० जना प्रतिस्पर्धीमध्ये सात जना टेक्निसियन र तीन जना इलेक्ट्रिसियन ग्रान्ड फिनालेमा पुगेका थिए ।
विजेताहरूलाई पुरस्कार वितरण गर्दै आइएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतियोगिताले प्राविधिकहरूलाई नयाँ सिप सिक्न प्रेरणा दिने र बिक्रीपछिको सेवा गुणस्तरीय बनाउन मद्दत गर्ने बताए । साथै, सिप विकासमा लगानी गर्ने र निरन्तर सिकाइको संस्कार निर्माण गर्न समूह प्रतिबद्ध रहेको उल्लेख गरे । अशोक लेलैन्डका कन्ट्री हेड विप्लव पालले ‘सर्भिस सम्राट’ प्रतियोगितामा सहभागी प्राविधिकहरूले अन्तर्राष्ट्रियस्तरको सिप प्रस्तुत गरेको उल्लेख गर्दै प्राविधिक क्षमता विकासमा उनीहरूको लगाव प्रशंसायोग्य रहेको बताए । ‘सर्भिस सम्राट’ अशोक एलटी इन्जिनियरिङ सर्भिसेजद्वारा वार्षिकरूपमा आयोजना गरिने प्रतियोगिता हो ।