काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा अनुपात बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरूको निष्कृय कर्जा अनुपात २०८० चैतमा तीन दशमलव ९८ प्रतिशत रहेकोमा २०८१ चैतमा पाँच दशमलव २४ प्रतिशत पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ । निष्कृय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरूको पाँच दशमलव शून्य पाँच, विकास बैंकको पाँच दशमलव ५६ र वित्त कम्पनीको १३ दशमलव शून्य चार प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको तीन दशमलव ८९, विकास बैंकको तीन दशमलव ६३ र वित्त कम्पनीको १० दशमलव ४० प्रतिशत थियो ।
गत आवको तुलनामा चालु आवमा कर्जा प्रवाह बढेको छ भने निक्षेप संकलन घटेको छ । चालु आवको गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ तीन खर्ब ६१ अर्ब तीन करोड बराबर कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ दुई खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तीन खर्ब ६८ अर्ब ४७ करोडले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप चार खर्ब नौ अर्ब चार करोडले वृद्धि भएको थियो ।
बैंक तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत व्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा आठ दशमलव ५१ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधारदर २०८१ चैतमा छ दशमलव २९ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० चैतमा छ दशमलव ५३ प्रतिशत रहेको वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा चार दशमलव ४५ प्रतिशतमा झरेको छ । त्यसैगरी २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा घटेर आठ दशमलव २२ प्रतिशत कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तर बैंक दर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार २०८१ चैतमा तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा भारित औसत अन्तर बैंक दर तीन दशमलव १० प्रतिशत थियो ।
डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । ‘मोबाइल बैंकिङ, क्युआर, डिजिटल वालेटलगायतका शीघ्र भुक्तानीका उपकरणहरूको दायरा फराकिलो हुँदै गएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘समीक्षा अवधिमा ‘रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम’ (आरटीजीएस) मार्फत भएको कारोबार रकम बढेको छ ।’
अघिल्लो वर्षको चैत मसान्तसम्ममा आरटीजीएसमार्फत दुई खर्ब ५० खर्ब २७ अर्ब ७५ करोड बराबरको पाँच लाख ८२ हजार वटा कारोबार भएको थियो ।