फिक्कल (इलाम) । सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।
यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ ।
इञ्जिनियर घिमिरेले भने, “अब ठेल्ने काम बाँकी छ, जोड्दै ठेल्दै गर्नुपर्ने भएकाले त्यसका लागि केही समय लाग्ने रहेछ ।” निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । यस स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण सुरु भएको हो । यसअघि पुल नहुँदा मध्य बर्खामा सो सडक पूर्ण रुपमा बन्द हुने भएकाले यात्रीहरु जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए ।
बर्सातको समय सम्म बेलिब्रिज निर्माण सम्पन्न भएपछि झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरी पर्दछ ।