काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । यही जेठ सात गते ३१औँ वर्पमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखि जेठ १० गतेसम्म महिनाव्यापीरुपमा वार्षिक उत्सव मनाउने क्रममा बैंकले महिला उद्यमीहरुलाई देशैभरिका विभिन्न शाखा कार्यालयहरुमार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको हो ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशीलतालाई समेत प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा ज्येष्ठ ६ गते देशभरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरुमार्फत ३२० पिन्ट रगत सङ्कलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।
साथै बैंकले ज्येष्ठ ७ गते बुधबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरु जस्तैः मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
वार्षिक उत्सवको महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको र विगत तीन वर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२५, श्रृङ्खला ४) २४ टिमको सहभागितामा बैैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।