नयाँदिल्ली । भारतले आधिकारिकरूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । नीति आयोगका सीईओ बीभीआर सुब्रह्मण्यमले मे २४ मा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । भारतले आफ्नो आर्थिक नीतिका कारण यो उपलब्धि हासिल गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्याङ्कलाई उल्लेख गर्दै गर्दै सुब्रह्मण्यमले भने, ‘हामी चौथो ठूलो अर्थतन्त्र हौँ । हामी चार ट्रिलियन डलरको अर्थतन्त्र हौँ । आज भारत जापानभन्दा ठूलो बनेको छ । अब अमेरिका, चीन र जर्मनी मात्र भारतभन्दा ठूला छन् ।’
सीईओ सुब्रह्मण्यमले भारत आफूले अवलम्बन गरेको योजना र विचारहरूमा अडिग रहेकाले अब दुई तीन वर्षमा विश्वमा तेस्रो ठूलो अर्थतन्त्र बन्ने दाबी गरेका छन् । भारतले सन् २०२८सम्म जर्मनीलाई पनि उछिन्ने लक्ष्य राखेको छ ।
भारतको यो उपलब्धि बलियो घरेलु माग, अनुकूल जनसंख्या र नीतिगत सुधारका कारण सम्भव भएको हो । भारतको अर्थतन्त्रले वार्षिक छ–सात प्रतिशतको वृद्धि हासिल गरिरहेको छ । भारतको यो उपलब्धिले ‘जी२०’ र ‘अईएमएफ’जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो प्रभाव बढाउन सक्छ । भारत आकर्षक बजार बन्न सक्छ र वैदेशिक लगानी थप बढेर जान्छ ।
भारतको जीडीपी सन् २०२७मा पाँच ट्रिलियन डलर र सन् २०२८सम्म पाँच दशमलव ५८ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ ।
अहिले अमेरिकाको अर्थतन्त्र ३० दशमलव ५१ ट्रिलियन डलरको छ । यस्तै चीनको अर्थतन्त्र १९ दशमलव २३ ट्रिलियन डलर र जर्मनीको चार दशमलव ७४ ट्रिलियन डलर पुगेको छ । भारतको चार दशमलव १९ ट्रिलियन डलर र जापानको चार दशमलव १८ ट्रिलियन डलरको अर्थतन्त्र कायम छ ।