काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट जेठ १० गते उद्घाटन भएको हो ।
उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यसअघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालयलगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्नेगरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो ।
कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाहरुले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालय, छ सय ७० वटा एटीएम, एक सय १६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ ।