काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत्, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए । नेसनल चेम्बर अफ कमर्स श्रीलङ्काका पदाधिकारीहरूसँगको भेटका क्रममा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भइसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे ।
नेपालमा लगानीका क्षेत्रहरूबारे श्रीलङ्काका व्यवसायीहरूलाई जानकारी दिँदै अध्यक्ष अग्रवालले दुई देशका निजी क्षेत्रबीच ठोस रणनीतिक योजनासहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाइ छ । कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसरहरू लगानीको चुनौती नीति तथा कानुनी संरचनालगायतका विषयमा विस्तृत विषयमा छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलङ्काको निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए ।