खोटाङ । पौडी खेल्ने क्रममा तीन दिनअघि शनिबार सुनकोशीमा डुबेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य भइरहेको छ । बेपत्ता भएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले डिकुवास्थित ओख्लाङका विन्द्रकेशर राईका छोरा सविनलाई शनिबार बिहान करिब ११ बजे सुनकोशीले बगाएको खबर प्राप्त भएको बताए । सविन सुनकोशीमा बेपत्ता भएको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी गर्नेक्रम जारी राखे पनि हालसम्म फेला पार्न नसकेको वडाध्यक्ष राईको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक राज विष्टले सविन सुनकोशीमा डुबेर बेपत्ता भएको जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जानकारी दिए । बेपत्ता सविनलाई डिकुवाका वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले सुनकोशी वारिपारी खोजी रहेका छन् ।
जिल्ला सुरक्षा समितिले बेपत्ता सविनको खोजी तथा उद्धारका लागि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको जनाएको छ । धामी लिन भनेर ओख्लाङबाट स्थानीय १५ वर्षीय सागर राईसँग सविन डिकुवा गएको आफन्तले बताएका छन् ।
सुनकोशीमा डुबेर बेपत्ता भएका सविन तीन दिनसम्म पनि फेला नपरेपछि गोताखोर झिकाएर खोजी कार्यलाई तीव्रताका साथ अगाडि बढाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
तीन दिनदेखि सुनकोशीमा डुबेर बेपत्ता बनेका च्यास्मिटार माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत सविनको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर बोलाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।