काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी एक वर्षमा सात अर्ब २४ करोड ६० लाख रुपैैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० चैत मसान्तमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४० करोड ७० लाख रुपैयाँ रहेकोमा २०८१ चैत मसान्तसम्म बढेर चार खर्ब ४३ अर्ब ६५ करोड ३० लाख रुपैयाँ पुगेको हो ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको चुक्ता पुँजी एक वर्षमा छ अर्ब ३० करोड ७० लाख रुपैयाँले बढेर तीन खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रुपैयाँ थियो ।
विकास बैंकहरूको चुक्ता पुँजी पनि एक वर्षमा ८८ करोड ४० लाख रुपैयाँ बढेको छ । २०८० चैतमा ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको चुक्ता पुँजी २०८१ चैतमा ४३ अर्ब पाँच करोड ५० लाख रुपैयाँ पुगेको छ ।
फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी २०८१ चैत मसान्तमा १५ अर्ब २७ करोड १० लाख रुपैयाँ कायम भएको छ । जुन एक वर्षअघिको तुलनामा पाँच करोड ५० लाख रुपैयाँ बढी हो । २०८० चैतमा चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी सबैभन्दा धेरै छ । २०८१ चैतमा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५० हजार रुपैयाँ छ । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९० हजार रुपैयाँ पुगेको छ । यसबाहेकका १८ वटा बैंकको चुक्ता पुँजी पनि राष्ट्र बैंकले वाणिज्य बैंकहरूको लागि तोकेको न्यूनतम पूँजी आठ अर्ब रुपैयाँभन्दा निकै धेरै छ ।
विकास बैंकहरूमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको छ । २०८१ चैत मसान्तमा मुक्तिनाथको चुक्ता पुँजी सात अर्ब चार करोड ६९ लाख रुपैैयाँ छ । अन्य राष्ट्रियस्तरका विकास बैंकको पनि केन्द्रीय बैंकले तोकेको न्यूनतम चुक्तापुँजी दुई अर्ब रुपैयाँभन्दा धेरै नै छ ।
फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी मञ्जुश्री फाइनान्सको छ । मञ्जुश्रीले २०८१ चैत मसान्तमा एक अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्दा राष्ट्रियस्तरका अन्य फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी पनि राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड रुपैयाँभन्दा निकै माथि छ ।