दोलखा । जिल्लामा अमेरिकी फौजी किराको प्रकोपले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित बनेका छन् । गोडमेल गरेर मल लगाउने बेलाका मकैको बोटसँगै गुबो नै किराले सखाप पार्न थालेपछि यहाँका किसानहरू समस्यामा परेका हुन् ।
जिल्लाको वैतेश्वर, कालिञ्चोक, मेलुङ र गौरीशंकर गाउँपालिकाका किसानले लगाएको मकै बालीमा व्यापकरूपमा फौजी फैलिएको हो । मकैमा व्यापक फौजी किराको प्रकोप देखिएपछि नियन्त्रणका लागि किसानहरू स्थानीय पालिका तथा वडामा किरा नियन्त्रणको लागि सहयोग माग्न थालेका छन् । मेलुङकी स्थानीय कृषक बिमला लामाले मकै बालीमा अमेरिकन फौजी किराको आक्रमणले सताएको बताइन् । ‘रोपेको ३०/४० दिन भयो । गोड्ने समयसम्म फाट्टफुट्ट फौजी थिए तर अहिले सिङ्गो चौरबारीमा प्रकोप फैलिएको छ’, उनले भनिन् । मेलुङकी बिमलाको जस्तै पीडा कालिञ्चोकका किसान सुमन पाठकको पनि छ । ‘चार रोपनी जमिनमा मकै खेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो’, पाठकले भने, ‘अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना भएको छ ।’
यता वैतेश्वरका अधिकांश किसानलाई पनि फौजी प्रकोपले मकै जोगाउन मुस्किल परेको छ । वैशाखसम्म खासै प्रकोप नरहेको मकै बालीमा जेठको पहिलो सातदेखि नै तीव्र प्रकोप फैलिएको हो । वैतेश्वरको वडा नम्बर–२ को थापागाउँ, सानिटार, वडा नम्बर–३ को पाइले, खानीगाउँ, मजुवा, चिलाउनेखड्का, यार्सा, वडा नम्बर–५को खत्रीगाउँ, कालथोक, बगर र वडा नम्बर–६ को नाम्दु बनगाउँ क्षेत्रमा फौजी प्रकोप रहेकोे स्थानीय किसानहरूले बताए । त्यसैगरी गौरीशंकर गाउँपालिकाको झ्याकु र जुँगुको तल्लो क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ ।
वैतेश्वर गाउँपालिकाले भने कृषि प्राविधिकसहित किरा नियन्त्रण गर्न विषादी पठाउने तयारी गरेको वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले बताए । अमेरिकी फौजी किरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रातमा सक्रिय हुने किरा हो । उपयुक्त खाना तथा बासस्थानको खोजीमा फौजी किराको वयस्क पुतली सय किलोमिटर टाढासम्म उडेर जानसक्ने भएकाले यसको समयमै नियन्त्रण गर्न नसके यसले धेरै क्षति पुर्याउने कृषि विज्ञहरूको भनाइ रहेको छ । यो किराको प्रजातिले धानचमरा नपलाएको कलिलो मकैलाई नष्ट गर्छ ।