मकवानपुर । मकवानपुर जिल्लाको उत्तरी क्षेत्र पालुङमा सोमबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार साँझ ७ः०० बजे त्रिभुवन राजपथ खण्डअन्तर्गत नेपाल विद्युत् प्राधिकरणबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल हुँदा सडकमा हिँडिरहेका एक पुरुषलाई ठक्कर दिएको थियो ।
यात्रुलाई ठक्कर दिएलगत्तै बस अनियन्त्रित भई पालुङ नगरपालिकाका उपप्रमुख भरत गोपालीको घरभित्र पसेको थियो । घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले सो बसका चालक थाहा नगरपालिका–५ बस्ने वर्ष २९को राजेश कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनामा हालसम्म ठेगाना थाहा नभएका अन्दाजी ३५ वर्षका कृष्ण बलामी र लोकेन्द्रबहादुर ठाकुरको प्रथामिक स्वास्थ केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ ।
ठेगाना नखुलेका कमलेशकुमार साह र रघुनन्दन यादवलाई शरीरको विभिन्न भागमा चोटपटक लागेको कारण काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ । अन्य सामान्य चोटपटक लागेका सिमरा उपमहानगरपालिका– १७ का छेयांग दोर्जे लामा र कोल्बी नगरपालिका –०१ का रामगुलाम चौधरीको पालुङ स्वास्थकेन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।