काठमाडौं । शौर्य सिमेन्टको आर्थिक सहयोगमा उदयपुरमा विद्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८ आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो ।
निर्माण सम्पन्न भवनको हालै उद्घाटन गरी हस्तान्तरण समेत गरिएको छ । यी दुवै भवनको उद्घाटन कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले गरेका थिए । विद्यालय भवन उद्घाटन कार्यक्रममा नगरपालिकाका मेयर श्रेष्ठले शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको बताए । शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जानकारी दिए । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि शौर्यलाई सजग रहन आग्रह गरे । विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको जानकारी दिए । कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण समेत गरेको थियो ।
यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए । कार्यक्रममा मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि यो भवन महत्वपूर्ण हुने बताए । वडानम्बर ८ का वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै अब वडालाई एम्बुलेन्सको आवश्यकता रहेको समेत औँल्याए ।