काठमाडौं । भिजिट भिसाको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा मानिसहरुलाई विदेशमा पठाएको (मानव तस्करी) गरेको प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद्मा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुले अवरोध गरेपछि बजेटसँग सम्बन्धित संसदको बैठक नै अवरुद्ध हुन पुगेको छ ।
मंगलबार संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को आर्थिक सर्वोक्षण पेस गर्नेलगायतका कार्यसूची थियो । तर, विपक्षीहरुले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिसभाको बैठक स्थगित गरिएको छ । योसँगै आर्थिक सर्वेक्षण पेश गर्नेलगायतका कार्यक्रम पनि रोकिएको छ ।
प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा मागेका छन् भने सत्तारुढ दलहरुले कर्मचारीले गरेको गल्तीको कारण गृहमन्त्रीले राजीनामा दिनु नपर्ने अडान लिएका छन् । प्रतिपक्षी मात्र नभई सत्तारुढ काँग्रेसकै सांसदहरुले पनि गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि सहयोग गर्नुपर्ने सुझाब दिइरहेका छन् ।
सत्तापक्षले गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिनुपर्ने र आरोप लगाउँदैमा राजीनामा दिनु नपर्ने अडान लिएका छन् । तर, विपक्षीहरुले भने आरोप लागेपछि अनुसन्धानका लागि सहयोग गर्नुपर्ने भन्दै राजीनामा दिनैपर्ने अडान लिएका छन् । मानव तस्करीको पुष्टि भएमा सांसद पदबाट समेत स्वतः हट्नु पर्ने भएकाले आरोपमा भने मन्त्री पदबाट राजीनामा दिएर सहयोग गर्नुपर्ने विपक्षीहरुको माग छ । विगतमा पनि धेरै मन्त्रीहरुले आरोप लागेपछि राजीनामा दिएका थिए । केहीले तत्काल राजीनामा दिएका थिए भने केहीले संसद अवरोधको निकासा निकाल्नका लागि पनि राजीनामा दिएका थिए । तर, गृहमन्त्री लेखकले भने अडान लिएको कारण बजेट नै प्रभावित हुने देखिएको छ । संविधानमै जेठ १५ गते बजेट लाउने उल्लेख छ ।
राजीनामा नदिए पनि गृहमन्त्री लेखकमाथि मानव तस्करी गरेको गम्भीर आरोप लागेको छ । यो आरोपबाट मुक्ति पाउनका लागि तत्काल छानबिन भएर क्लिन चिट लिनुपर्ने हुन्छ । उनी सत्तामा बसेर छानबिन गर्दा आरोप लगाउनेहरुको जिकिरमा बल पुग्ने भएकाले गृहमन्त्रीबाट राजीनामा दिएर छानबिन गराउँदा हुने काँग्रेस नेता शेखर कोइुराला र सुनिल शर्माहरुको सुझाब छ ।
पार्टी सभापति शेरबहादुर देउवा निकट लेखक काँग्रेसभित्र राम्रो नेताका रुपमा चिनिएका थिए । तर, अहिले भिजिट भिसा प्रकरणमा उनको विभिन्न व्यक्तिसँगको सम्पर्कको कारण विरोध भइरहेको छ । यसअघि देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका माओवादी नेता जनार्दन शर्मामाथि बिचौलियाको योजना अनुसार करका दरहरु परिवर्तन गरेको र त्यस्तो दर परिवर्तन मन्त्रालयमै अनधिकृत व्यक्तिलाई बोलाएर गरिएको आरोप लागेको थियो । तर, अर्थ मन्त्रालयले बजेटको अघिल्लो दिनको सिसि क्यामेरा नै बन्द गरेको पाइएपछि उनीमाथि लागेको आरोप पुष्टि भएको थिएन । त्यसपछि शर्मा अर्थमा पुनः फर्किएका थिए । अहिले गृहमन्त्री लेखकले पनि छानबिनमा सहयोग गर्न त्यसैगरी राजीनामा दिनुपर्ने काँग्रेसकै केही सांसद र सबै विपक्षीहरुको माग छ ।
पैसा लिएर भिजिटि भिसाको नाममा विदेशमा नेपालीलाई काम गर्न पठाएको प्रारम्भिक प्रमाण फेला पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलको अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेर अनुसन्धान थालेपछि गृहमन्त्री लेखकमाथि प्रश्न उठेको हो । दैनिक लाखौ रुपैयाँ त्यसरी विदेश जानेबाट उठाउने गरिएको र उक्त पैसा गृहमन्त्रीकहाँ पनि पुग्ने गरेको आरोप लागेको छ । सोही आरोपको कारण केही दिनदेखि राजनीतिक वातावरण तातेको छ । बजेट आउने दुई दिन अगाडिदेखि संसदमा यो विषयले प्रवेश पाएपछि सरकार गृहमन्त्री लेखकको बारेमा संकटमा परेको छ । गृहमन्त्री पदबाट लेखकले राजीनामा दिएमा संसद चल्ने र बजेट पनि सहज रुपमा प्रस्तुत हुने देखिएको छ । तर, गृहमन्त्री पदबाट लेखकले राजीनामा नदिएमा संसद अवरुद्ध हुने देखिन्छ । आफ्ना सभापति रवि लामिछाने जेल परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी अदालतप्रति आक्रोसित छ । त्यसको रिस उसले सरकारमार्फत फेर्न खोजिरहेको छ भने माओवादी पनि सत्तामा नभएपछि अहिले सरकारलाई कमजोर पार्ने मुद्दा खोजिरहेको छ । त्यस्तै पूर्वपञ्चहरुको पार्टी राप्रपा पनि गणतन्त्रविरुद्धको आन्दोलनमा रहेको कारण ऊ पनि सरकारलाई जसरी पनि झुकाउने योजनामा छ । विपक्षीहरुसँग सरकार ढाल्ने अंकगणित नभए पनि संसद अवरुद्ध गर्ने ताकत रहेको कारण गृहमन्त्रीको राजीनामा संसद खुलाउने बटमलाइन बन्न पुगेको छ ।