काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरूलाई गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्विस सरकार र आईएलओको अन्तर्राष्ट्रिय तालिम केन्द्र (आईटीसी)द्वारा मंगलबार धुलिखेलमा आयोजित श्रम सम्झौताको विकास, सौदाबाजी र कार्यान्वयनसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले गन्तव्य देशबाट वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई सधैँ सम्मानपूर्ण व्यवहारको अपेक्षा नेपालले राख्ने गरेको बताए । उनले भने, ‘आफ्नो देशमा श्रमशक्ति नभएपछि नेपालबाट श्रमिक लिएर जाने गरेको हो । नेपालबाट गएका श्रमिकले गन्तव्य देशको विकासमा ठूलो योगदान गरिरहेको छ । यसलाई गन्तव्य देशले पनि भन्दै आइरहेको छ ।’ मन्त्री भण्डारीले गन्तव्य देशले श्रम गर्न गएका नेपाली श्रमिकहरूलाई स्थानीय नागरिक सरह नै आधारभूत अधिकार पाउने हैसियत कायम गर्नुपर्ने बताए ।
‘त्यो देशको विकासलाई योगदान गर्ने नेपाली श्रमिकलाई दास सरहको व्यवहार गर्न पाइँदैन’, उनले भने, ‘नेपाली श्रमिकले स्थानीय नागरिक सरह नै आधारभूत अधिकार पाउने हैसियत राख्छ । सम्मानजनक व्यवहार खोज्दछ ।’ नेपालले गन्तव्य देशसँग नेपालीको न्यूनतम तलब, स्वास्थ्य सुरक्षा, बीमा, सामाजिक सुरक्षा, मर्यादित कार्यस्थल र न्यायोचित भर्ना प्रक्रियाको विषयलाई सम्बोधन हुने गरी श्रम सम्झौता वा समझदारी गरिरहेको उनले बताए ।