काठमाडौं । एनआईसी एसिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँचवटा शाखाहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा दुई सय ५८ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरू, अनुगमन अधिकृतहरू, शाखा प्रमुखलगायतको उपस्थिति थियो ।
सोही दिन संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ऐन्जल फाउन्डेसनको सहयोगमा चलेको शिविरमा काठमाडौंको सिभिल हस्पिटलबाट गएका तीन जना वरिष्ठ चिकित्सकसहित नौ जना टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा ४० जनाभन्दा बढीले निःशुल्क सेवाको लाभ उठाउका थिए भने १६ जनाको ल्याबटेस्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरियो ।
ग्रामीण भेगमा रहेका निम्नवर्गीय समुदायका मानिसहरूलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरेको हो । यसबाट ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरी समयमा नै उपचार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।