काठमाडौं । नेपाली कृषकलाई डिजिटल सेवा दिँदै आएको सुपर कृषक एपले अतिरिक्त सेवा ‘सुपर कृषक प्रो’ सार्वजनिक गरेको छ । प्रिमियम सेवाअन्र्तगत यस एपमा उच्च क्वालिटी र ज्ञानमूलक कृषि तालिम, कृत्रिम बौद्धिकतामा आधारित बालीनालीको रोग किरा तथा अन्य समस्या पहिचान गरी तत्काल परामर्श दिने कृषि डाक्टर र किसानका समस्या तत्काल सुल्झाउने कृषक सञ्जाल सुविधा ल्याएको कम्पनीले जनाएको छ । एपका प्रिमियम सेवाहरू प्रयोग गर्नका लागि कृषकले सुपर कृषक एपमार्फत नै लग इन गरी सेवा लिन सक्नेछन । साथै, ई–सेवा एपमा गएर सुपर कृषक एप खोजेर आफ्नो सुपर कृषक आईडी (सम्पर्क नम्बर) राखी दैनिक पाँच रुपैयाँ तिरेर पनि एपको यी सेवा उपयोग गर्न सकिने छ । एक पटकको सब्क्रिप्सनको कुल लागत १५ रुपैयाँ लाग्नेछ । किसानले एकपटक सेवा प्रयोगबापतको पैसा तिरेपछि तिन दिनसम्म सुपर कृषक प्रो बन्नेछन् ।
प्रिमियम सेवाअन्तर्गत रहेको सिकौँ सुविधामार्फत किसानले घरमै बसी उच्च क्वालिटीको तालिममा सहभागी हुन पाउनेछन् । हाल एपमा ऋण, अनुदान प्राप्त गर्न कृषि प्रस्तावना कसरी लेख्ने, आधुनिक कृषि प्रविधि कसरी प्रयोग गर्ने, प्राङ्गारिक कृषि कसरी गर्ने र सोको प्रमाणीकरण कसरी प्राप्त गर्नेलगायतका विविध विषयमा तालिमहरू उपलब्ध छन् ।
त्यसैगरी प्रिमियम सेवाअन्तर्गत कृषि डाक्टर सेवा प्रयोग गरी किसानले आफ्नो बालीनालीमा देखिएको रोग, किरा, तथा खाद्यतत्वको कमी तथा अन्य कारणले भएको विकारलाई फोटो खिचेर केही सेकेण्डमा नै पहिचान गर्न सक्नेछन् । साथै, उचित समाधान अर्गानिक तथा रासायनिक उपाय पनि प्राप्त गर्ने छन् । यसले किसानको समय, श्रम, लगानी र हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्नेछ । यी सेवाबाहेक पनि सुपर कृषक एपमा किसानले अन्य बहुउपयोगी सुविधा निःशुल्करूपमा प्रयोग गर्न पाउने छन् । एपमा ८० भन्दा बढी आधुनिक खेती, मौरीपालन, तरकारी खेती, कौशी खेती, माछापालन, च्याउ खेती, उन्नत कृषि बाली, फलफूल, बजारमुखी कृषि बाली, रैथाने बाली, कृषि बीमालगायत दर्जनौँ फरक विषयमा विज्ञमार्फत दिइएका तालिमहरू निःशुल्करूपमा हेर्न, सिक्न र परीक्षामा सामेल भई प्रमाणपत्र पनि लिन सकिनेछ ।
हाललाई यी सुविधा प्रयोग गर्न कृषकहरूले गुगल प्लेस्टोरमा गई एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् भने आइफोन प्रयोगकर्ता किसानको लागि केही समयपछि एप उपलब्ध हुनेछ ।