वासिङ्टन डिसी । डोनाल्ड ट्रम्प सत्तामा फर्किएयता उनको परिवारको व्यावसायिक गतिविधि नयाँ तरिकाले अगाडि बढिरहेको छ ।
भियतनाम र इन्डोनेसियाजस्ता एसियाली देशहरू अब ट्रम्प परिवारलाई अर्बौँ डलरबराबरका परियोजनाहरू दिएर अमेरिकासँगको सम्बन्ध सुधार गर्न खोजेका छन् । धेरै देशहरुले कानुनी प्रक्रियालाई बेवास्ता गरेरै यो काम गरिरहेका छन् ।
भियतनामको विन्ह फुक प्रान्तमा रहेको २० हजार करोडभन्दा बढी रुपैयाँको ‘ट्रम्प इन्टरनेसनल गल्फ रिसोर्ट’ परियोजना यसको एउटा उदाहरण हो । भियतनामी सरकारले यसलाई राष्ट्रिय प्राथमिकता भन्दै अनुमोदन गरेको छ । साथै, इन्डोनेसियाको बाली र पश्चिम जाभामा ट्रम्प परिवारलाई होटल र गल्फ कोर्सजस्ता परियोजनाहरू पनि प्रस्ताव गरिएको छ । टर्की र अजरबैजानले पनि ट्रम्प परिवारलाई आकर्षित गर्न विभिन्न परियोजना अफिर गरेको देखिन्छ ।