काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर डा विश्वनाथ पौडेलको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । अघिल्लो दिन मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गभर्नर डा पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञता समेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको थियो ।
डा. पौडेललाई गभर्नरमा सिफारिस नियुक्ति तथा सपथ समेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै नियुक्ति बदरको माग गरिएको छ ।