काठमाडौं । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा गत जेठ ७ गते पक्राउ परेका त्रिभुवन विमानस्थलका अध्यागमन कार्यालयका प्रमुख रहेका सहसचिव तीर्थराम भट्टराईलाई अपराह्न पक्राउ गरेर केही घण्टापछि मध्यरातमा किन छाडियो भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
भिजिट भिसाको नाममा संगठितरूपमा मानव तस्करी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई गत बुधबार साँझ पक्राउ गरेको थियो । अख्तियारकै हिरासतमा राखिएका उनलाई रिहा गर्न आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुरक्षा निकायलाई निर्देशन दिएपछि बिहीबार बिहान १० बजे हाजिर हुने गरी छुटेका थिए ।
सामान्यतया यसरी हिरासतमा लिइएका व्यक्तिहरूलाई राति १० बजेपछि छाड्ने गरिँदैन । तर त्यो परम्परा तोडेर सहसचिव भट्टराईलाई अख्तियार प्रमुख राईले कसको दबाबमा के कारणले छाडेका हुन्, त्योचाहिँ रहस्यकै गर्भमा रहेको छ । सहसचिव भट्टराईलाई अख्तियारले झुक्याएर हिरासतमा लिएको हो कि राजनीतिक दबाब खेप्न नसकेर मध्यरातमा रिहा गरेको हो, अहिलेसम्म के हो खुलाइएको छैन । पक्राउ गरेर हिरासतमा पठाइसकेपछि एक रात पनि थुन्न नसक्ने अख्तियारले आफूभन्दा शक्तिशाली भएकाले भट्टराईलाई छाडेको हो कि त्यसका पछाडि जनमानसमा लाग्ने गरेको आरोपअनुसार कुरा मिलेर छाडिएको हो, यसको जवाफ पाए अख्तियारप्रतिको जनविश्वास झन् बढ्ने बुझिएको छ ।
अहिले सहसचिव भट्टराई पक्राउ परेपछि प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् । सत्तारुढ गठबन्धनले भ्रष्टाचारको आरोपमा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने अडान लिँदै आएको छ । तर भिजिट भिसाको नाममा हुने मानव तस्करीबाट दैनिक ५० लाख घुस लेनदेन हुने आरोप लागेको बेला मध्यरातमा उनको रिहाइले शंका गर्नेहरूलाई बल प्रदान गरेको छ । यसअघि २०८० मंसिर २७ गते प्रहरीले अध्यागमनका अधिकृत नरबीर खड्कालगायतका कर्मचारीलाई भिजिट भिसाको नाममा नाममा मानव तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो । झण्डै एक वर्षअघि गृहमन्त्री भएपछि लेखकले त्यसलाई रोक्नेतर्फ ठोस कदम नचाल्नुले पनि शंकाको सुई उनीतिर सोझिन पुगेको छ ।