काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अनिवार्य नगद मौज्दातको सीमा ९० प्रतिशत कायम राख्न निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
परिपत्रानुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले आफ्नो कुल निक्षेप दायित्वको चार प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्नेछ । यस्तै, जेठ १८ गतेदेखि दैनिकरूपमा अनिवार्य नगद मौज्दात न्यूनतम ९० प्रतिशत कायम गर्नुपर्नेछ ।
यसअघि भने २०७९ भदौ १२ गतेदेखि कुल निक्षेप दायित्वको चार प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम सीमा दैनिक ७० प्रतिशत राख्नुपर्ने व्यवस्था थियो ।
अब अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गरिनेछ । मौज्दातको गणना गर्दा निश्चित समयावधिपछि एक हप्ता अन्तराल कायम गरी त्यसपछिको दुई हप्ता (आइतबारदेखि १४ औँ दिनको शनिबार) कायम गरिने औसत नगद मौज्दातलाई लिइनेछ । अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनका लागि कुल निक्षेप दायित्वको हकमा साप्ताहिकरूपमा आइतबारदेखि शनिबारसम्मको कुल निक्षेपको योगलाई सात अंकले भाग गरी दैनिक औसत निर्धारण गर्नुपर्नेछ । यसैगरी, नेपाल राष्ट्र बैंक मौज्दातको गणना गर्दा आइतबारदेखि १४औँ दिनको शनिबारसम्मको दैनिक मौज्दातको कुल योगलाई १४ अंकले भाग गरी दैनिक औसत निर्धारण गरिनेछ । यस निर्देशनबमोजिम कायम गर्नुपर्ने अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत मौज्दात दैनिकरूपमा कायम गर्नुपर्नेछ,’ परिपत्रमा भनिएको छ ।
यसअघि अनिवार्य मौज्दात गणनासम्बन्धी प्रयोजनका लागि अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गरिने व्यवस्था रहेको थियो । निश्चित समयावधिपछि एकहप्ताको अन्तराल कायम गरी त्यसपछिको दुई हप्ता (आइतबारदेखि १४औँ दिनको शनिबार) मा कायम गरिने औसत नगद मौज्दातलाई लिइने र अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनका लागि कुल निक्षेप दायित्वको हकमा साप्ताहिकरूपमा आइतबारदेखि शनिबारसम्मको कुल निक्षेपको योगलाई सात अंकले भाग गरी दैनिक औसत निर्धारण गर्नुपर्ने व्यवस्था रहेको थियो ।
यसैगरी नेपाल राष्ट्र बैंक मौज्दातको गणना गर्दा आइतबारदेखि १४औँ दिनको शनिबारसम्मको दैनिक मौज्दातको कुल योगलाई १४ अंकले भाग गरी दैनिक औसत निर्धारण गरिनुपर्ने निर्देशनबमोजिम कायम गर्नुपर्ने अनिवार्य मौज्दातको कम्तीमा ७० प्रतिशत मौज्दात दैनिकरूपमा कायम गर्नुपर्ने पुरानो परिपत्रमा उल्लेख थियो ।