दोलखा । जिल्लाका नौमध्ये आठ वटा पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जिल्लाको विगु गाउँपालिकाबाहेक अन्य आठ पालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको जनस्वास्थ्य कार्यालय दोलखाका कोल्डचेन्ज अधिकृत भुवनराज केसीले बताए ।
उनका अनुसार बुधबार मात्रै भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका छन् । वैतेश्वर गाउँपालिकाको पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत केसीले विगुबाहेकका अन्य पालिका पूर्ण खोप सुनिश्चितता भएको बताए । वैतेश्वरको पूर्ण खोप घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका अध्यक्ष समेत रहेका छवि लामाले वैतेश्वरका सबै वडाका बालबालिका पूर्ण खोपको पहुँचमा रहेको बताए । अध्यक्ष लामाले पूर्णखोप कार्यक्रमको उद्घाटन गर्दै पालिकाभित्रका सबै स्वास्थ्य चौकीले बालिकालाई पूर्ण खोप सुनिश्चितता प्रदान गरेको भन्दै वडामा रहेका स्वास्थ्य चौकीलाई सम्मान गरेका थिए । कार्यक्रममा वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर तामाङले वडा तथा पालिकागतको वार्षिक खोप प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।
स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएको यो अभियानअन्तर्गत पालिकाभित्रका पाँच सय ८५ जान बालबालिकालाई नियमित खोप लगाएर पूर्ण खोप सुनिश्चितता हासिल गरिएको बताए । खोप अधिकृत केसीले कार्यक्रममा वैतेश्वरले पनि राज्यको खोप नीति पूरा गर्दै पूर्ण खोप सुनिश्चितता गरेको बताउँदै पालिकालाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा पालिका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो ।