काठमाडौं । ग्लोबल आईएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवासुविधासहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरूपमा उक्त कार्डको अनावरण गरेका हुन् ।
ग्लोबल स्काई क्लब कार्डवाहकहरूले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याकस्वरूप निःशुल्क टिकट पाइनेछ । यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा एक सय प्वाइन्ट बोनस प्राप्त हुनेछ । बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरूको लागि प्रयोग गर्न सकिनेछ । ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कमबाट हुने कारोबारमा पनि प्रत्येक एक सय रुपैयाँबराबर एक माइलेज प्वाइन्ट प्राप्त हुनेछ । कार्डवाहक ग्राहकहरूले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौलभन्दा थप पाँच केजी तौल लैजाने सुविधा पनि पाउनेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आईएमई बैंक र यती एयरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताए ।
त्यसैगरी, यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आईएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए । बैंकको सबै क्षेत्रमा गरी तीन सय सय ५४ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, दुई सय दुई शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।