काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको पाइपलाइनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अन्डरराइटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ ।
मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धी सम्झौतामा मंगलबार कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन् । कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
चुक्ता पुँजी ६३ करोड रुपैयाँ रहेको कम्पनीले अङ्कित मूल्य एक सय रुपैयाँमा १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ । सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरीसम्बन्धीे औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपुरक सप्लिमेन्ट्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् ।
हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्रीवितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अन्य औषधिहरूको बिक्रीवितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ ।