नयाँदिल्ली । भारत सरकारले धान, कपास, भटमास र परेवालगायत १४ किसिमका बालीको न्यूनतम समर्थन मूल्य बढाएको छ । केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार धानको नयाँ समर्थन मूल्य दुई हजार तीन सय ६९ भारु पु¥याएको छ । जुन यसअघिको भन्दा ६९ रुपैयाँ बढी हो ।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले किसानलाई दिने समर्थन मूल्य बढाइएको जानकारी दिएका छन् । उनले कपासको नयाँ समर्थन मूल्य सात हजार सात सय १० भारतीय रुपैयाँ तोकिएको जानकारी दिए । १४ किसिमका बालिमा दिएको नयाँ समर्थन मूल्यका कारण सरकारमाथि दुई लाख सात हजार करोड भारतीय रुपैयाँको भार पर्नेछ । यो अघिल्लो बाली सिजनको तुलनामा सात हजार करोड रुपैयाँले बढी हो ।
केन्द्रीय मन्त्री वैष्णवले बालीको लागतभन्दा कम्तीमा ५० प्रतिशत बढी मूल्य सुनिश्चित गर्न ध्यान दिइएको बताएका छन् । न्यूनतम समर्थन मूल्य भनेको किसानहरूले आफ्नो बालीको लागि पाउने ग्यारेन्टी मूल्य हो । बजारमा त्यो बालीको मूल्य कम भए पनि यसको पछाडिको तर्क यो हो कि बजारमा बालीको मूल्यमा हुने उतारचढावले किसानहरूलाई असर गर्नु हुँदैन ।
केन्द्र सरकारले किसान क्रेडिट कार्डमा दिइने ब्याज अनुदान योजनालाई जारी राख्ने निर्णय पनि गरेको छ । यो कार्ड पाएका किसानहरुले सात प्रतिशत बयाजमा तीन लाख भारुसम्म ऋण लिन सक्छन् । जसमा बैंकहरुले साढे एक प्रतिशत अनुदान पाउँछन् । समयमै ऋण चुक्ता गर्ने किसानहरुलाई तीन प्रतिशतसम्मको प्रोत्साहन रकम दिइन्छ । अर्थात् उनीहरुको ब्याज घटाएर चार प्रतिशतमा झारिन्छ । किसानले पशुपालन र माछा पालनको लागि भने दुई लाख रुपैयाँसम्म यस्तो ऋण पाउन सक्छन् ।