तेहरान । इरानले अमेरिकासँग आणविक सम्झौता भएमा संयुक्त राष्ट्र संघको आणविक निगरानी निकायका अमेरिकी निरीक्षकलाई आफ्ना सुविधाहरूको निरीक्षण गर्न अनुमति दिनेबारे विचार गर्न सक्ने बताएको छ ।
लामो समयदेखि पश्चिमा शक्तिहरूले इरानलाई आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन् र तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण, असैनिक उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ ।
सन् २०१५ मा भएको आणविक सम्झौताबाट सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका पछि हटेपछि तेहरान र वासिङ्टनबीच हालैका हप्ताहरूमा यस विषयमा पाँच चरणको वार्ता भएको छ ।
इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का कर्मचारीलाई उद्धृत गर्दै पत्रकारहरूसँग भने, ‘जुन देशहरू हामीसँग शत्रुतापूर्ण व्यवहार गर्थे र वर्षौँदेखि सिद्धान्तहीन व्यवहार गर्थे, हामीले उनीहरूलाई (ती देशका निरीक्षकहरू जहिले पनि स्वीकार नगर्ने नीति रहेको छ ।’
उनले भने, ‘यदि कुनै सम्झौता भयो र तेहरानको मागलाई ध्यानमा राखियो भने इरानले एजेन्सीमार्फत अमेरिकी निरीक्षकहरूलाई स्वीकार गर्ने विषयमा पुनर्विचार गर्नेछ ।’
गत जनवरीमा सत्तामा फर्केपछि राष्ट्रपति ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’को नीतिलाई पुनः स्थापित गरेका छन् । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बुधबार भने, ‘अर्को चरणको वार्ताको समय र स्थानका बारेमा परामर्श जारी छ र अन्तिमरूप दिएपछि ओमानले यसको घोषणा गर्नेछ ।’
ओमानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति मसूद पेजेशकियानले सन् १९७९ देखि औपचारिक कूटनीतिक सम्बन्ध नभएको लामो समयदेखिका प्रतिद्वन्द्वीबीच मध्यस्थताको प्रयास गरेकोमा ओमानलाई धन्यवाद दिए ।