काठमाडौं । नेपालका पर्यटकीय गन्तव्यको विकास गर्न निजी क्षेत्रको लगानी आकर्षित गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रको सहयोगमा पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्रान्डिङ गर्ने बताए ।
कर्णाली, भेरी, गण्डकी, त्रिशुली, कोशीलगायतका प्रमुख नदीहरूमा र्याफ्टिङलगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागिएको हो । यस्तै, पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा विस्तार गरिने जनाइएको छ । छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिने बजेटमा उल्लेख छ । प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरी स्थलमार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिने जनाइएको छ ।
राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या–पर्यटकीय पूर्वाधार विकासमा जोड दिइनेछ । प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन, होटल, लज, रिसोर्टलगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्रलगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यस्तै, होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत् महसुल छुट दिइनेछ । होटल, मोटल, रेस्टुरेन्ट, जङ्गल सफारीलगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गर्न लागिएको हो ।
यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गहरूको विकास गर्ने बजेटमा उल्लेख छ ।
शुक्लाफाँटा–खप्तड, बर्दिया–रारा, लुम्बिनी–मुक्तिनाथ, सौराहा–गोसाईँकुण्ड, जनकपुरधाम–कालिञ्चोक, कोशीटप्पु–सगरमाथा र केचना–पाथिभरा पदयात्रा सञ्चालन गर्न लागिएको हो । त्यसैगरी खप्तड, रामारोशन, बडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या–पर्यटन पदमार्ग विकास गरिने छ भने सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तडलगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गर्ने जनाइएको छ । यस्तै, लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत् लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिने जनाइएको छ । स्वयम्भुनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ क्षेत्रमा सन्ध्याकालीन सम्पदामार्ग विकास तथा पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकका आकर्षक स्थलहरूमा पर्यटन पूर्वाधारको विकास गरिने बजेटमा उल्लेख छ ।
हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने
सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने जनाएको छ । हाल युरोपको आकाशमा नेपाली हवाई उडान प्रतिबन्ध छ । सो प्रतिबन्ध हटाउन आवश्यक कार्य गरिने बजेटमा उल्लेख छ ।
यस्तै, आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने भएको छ । सो कार्यको लागि नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याई संस्थागत सुदृढीकरण गर्न लागिएको हो । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न चार अर्ब १५ करोड छुट्याईएको छ ।
भैरहवा र पोखरा विमानस्थलबाट उडान सञ्चालन गर्नेलाई सहुलियत
यसैगरी, सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गर्न र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकको लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत समेत दिइने जनाइएको छ । यस्तै, वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने सरकारको तयारी छ ।
यसैगरी झापाको भद्रपुर, दाङको टरिगाउँ र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गर्ने, सुर्खेतमा प्रादेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण कार्य थालनी गर्ने, तेह्रथुमको चुहानडाँडा, डडेल्धुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने बजेटमा उल्लेख छ । आन्तरिक विमानस्थलहरूको पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ छुट्याइएको छ ।
पाणिनि ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण
यसैगरी, अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनि ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण गरिने भएको छ । नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण गर्न सो उद्यान निर्माण गर्न लागिएको हो । यस्तै, ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरूको डिजिटल आकाइभिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।