काठमाडौँ । नेपालजस्तो चट्टानैचट्टान र पहाडी क्षेत्र बढी भएको ठाउँमा सडक, सिँचाइ, जलविद्युत्, रेलमार्गलगायतका योजनाहरू जमिनभित्रबाट बनाउन सुझाव र सल्लाह पाइरहेको सरकारले अब सुरुङमार्ग निर्माणमा निजी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै मेसिन खरिदमा ९९ प्रतिशतसम्म भन्सार महसुल तथा कर छुट दिने घोषणा गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुरुङमार्ग निर्माण गर्न प्रयोग गरिने टनेल बोरिङ मेसिन (टीबीएम) खरिद गरेर नेपाल ल्याउँदा निजी क्षेत्रलाई ९९ प्रतिशतसम्म भन्सार महसुल छुट दिई बाँकी कर पनि छुट दिने व्यवस्था गरेको छ ।
‘सडक, सिँचाइ र जलविद्युत् आयोजनामा सुरुङ प्रविधिको प्रबर्द्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ मेसिन पैठारी गर्दा एक प्रतिशत भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट दिने व्यवस्था गरेको छु’, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
अर्थमन्त्रीले व्यवस्था गरेको भने पनि बजेट वक्तव्य राजनीतिक दस्तावेज हो । यसमा उल्लेख गरिएको विषय कार्यान्वयन भएन भने सरकारमाथि नैतिक प्रश्न मात्र उठ्ने हो कानुनी प्रश्न भने उठ्दैन । तर, छिटो, भरपर्दो र राजधानी तथा विकसित सहरबाट टाढाका सहर र जिल्लाहरूलाई सहज रूपमा जोड्ने हो भने नेपालमा सुरुङमार्गको विकल्प छैन । यस्तै, सिँचाइ र जलविद्युत् आयोजनाहरू पनि सुरुङमार्गबाट गर्न सकिएमा धेरै भू–भाग सिँचित हुनुका साथै जलविद्युत् उत्पादनको क्षमता पनि बढ्ने विज्ञहरूको भनाइ छ । ‘सरकार साँच्चिकै सुरुङमार्गमार्फत विकासमा अगाडि बढ्न खोजेको हो भने देशले चाँडै आर्थिक उन्नति गर्नेछ’, सिँचाइ विभागका एक सीडीईले भने ।
सुरुङ खन्न प्रयोग गरिने परम्परागत ड्रिलिङ र ब्लास्टिङ विधिको विकल्पको रूपमा अहिले विश्वभर टीबीएम नामक मेसिन प्रयोगमा छ । यसले कडा चट्टान, भिजेको वा सुख्खा माटो र बालुवासहित विभिन्न प्रकारका जमिनमा छिटो उत्खनन् गर्नेछ ।
नेपालमा भेरी बबई डाइभर्सन र सुनकोशी–मरिन डाइभर्सनजस्ता बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम टीबीएम नामक मेसिनबाट भइसकेको छ । वर्षौँ लाग्ने सुरुङ खन्ने काम केही महिना र वर्षमै सकिने भएका कारण सरकारले टीबीएम मेसिनबाट सुरुङ खन्ने र त्यसको जिम्मा निजी क्षेत्रलाई दिन लागेको हो । निजी क्षेत्रलाई आकर्षित गर्नकै लागि सरकारले टीबीएम मेसिन खरिद गरेर ल्याउने निर्माण व्यवसायीलाई भन्सार महसुल एक प्रतिशत मात्रै लिने र अन्य कर छुट दिने घोषणा गरेको हो ।
टीबीएम मेसिनहरू ठूला हुन्छन् । यसको व्यास १७ दशमलव छ मिटरसम्म र छ हजार टनभन्दा बढी तौलका हुन्छन् । नेपालले यस्ता मेसिन ल्याउने हो भने योजनाअनुसार अर्डर दिनुपर्ने हुन्छ । टीबीएम मेसिनको टाउको घुमाउन मिल्ने भएको कारण यसले सुरुङ राम्रोसँग उत्खनन् गर्छ भने उत्खनन् गरिएका सामग्री सामान्यतया कन्वेयर बेल्ट र टीबीएमभित्र पाइपमार्फत हटाइन्छ र त्यसपछि सतहमा ढुवानी गरिन्छ । सुरुङ आसपासको माटो वा चट्टानमा कम बाधा पार्ने भएकाले यसले वातावरणमा पनि कम असर गर्ने बताइएको छ ।
टीबीएम मेसिन चिनियाँ ब्रान्डका धेरै चल्तीमा छन् र उनीहरूले उच्च गुणस्तरका मेसिन बनाइरहेको दाबी गरेका छन् । यो मेसिन भने अति महँगो हुन्छन् । यसको आकार, जटिलता र सुविधाहरूको आधारमा मूल्य निर्धारण हुन्छ । मेसिनको लागत पाँच मिलियनदेखि एक सय मिलियन अमेरिकी डलरसम्म हुन सक्ने देखिएको छ । विभिन्न एजेन्सीहरूले लेखेअनुसार यो टीबीएमको लागत लगभग १५ मिलियन अमेरिकी डलर पर्छ । समाचार एजेन्सीहरूका अनुसार टीबीएमको व्यासमा प्रतिमिटर लगभग एक मिलियन अमेरिकी डलर खर्च हुन्छ । सोहीअनुसार मूल्य निर्धारण गरिएको हुन्छ । निजी क्षेत्रले यस्तो मेसिन खरिदका लागि ठूलोे मात्र नभई अति ठूलो योजनाहरू सरकारले ल्याउनुपर्नेछ ।