काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साहवर्द्धक बनाएको जनाएको छ ।
महासंघका अध्यक्ष भागिरथ सापकोटाले विज्ञप्ति जारी गरी लामो समयदेखि नेपाली अर्थतन्त्रमा देखिएको निराशालाई चिर्न यस बजेटले धेरै ठूलो योगदान पुर्याएको उल्लेख गरेका छन् । स्टार्टअप र साना तथा मझौला व्यवसायीहरूलाई समेत सहयोग पुग्ने गरी आएको रोजगार प्रवद्र्धन कार्यक्रमले भविष्यमा रोजगारमूलक ग्रामीण अर्थतन्त्र सबल बन्दै जाने महासंघले जनाएको छ । नेपाली अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान पुर्याउने क्षेत्रको पहिचान र तिनको सुधार गर्दै छ प्रतिशतको आर्थिक वृद्धि र पाँच दशमलव पाँच प्रतिशतभित्रमा मुद्रास्फीति कायम राख्ने बजेटको उद्देश्य निकै प्रशंसनीय रहेको महासंघको भनाइ छ ।
यस्तै, महासंघले निजी क्षेत्रको समेत संलग्नतामा बनाइएको आर्थिक सुधार आयोगका सुझावहरू क्रमशः कार्यान्वयन गर्दै जाने कुराको आश्वासन समेत बजेटमा समेटिएकाले औपचारिकरूपमा राज्यको ड्राइभिङ सिटमा राजनीतिक पार्टी र जनताका प्रतिनिधि बसे पनि अनौपचारिकरूपमा निजी क्षेत्र पनि राज्यको अर्थतन्त्रको ड्राइभिङ सिटमा बसिरहेका छन् भन्ने कुरा राज्यले सुनिश्चितता गरेको महसुस भएको उल्लेख गरेको छ । यसले आगामी दिनमा नेपालको अर्थतन्त्र गुणात्मक परिणामसहित सकारात्मक दिशामा अगाडि बढ्ने महासंको विश्वास छ । यस्तै महासंघले स्रोतको सुनिश्चितता गर्दै बजेटको पूर्ण र सफल कार्यान्वयनका लागि सम्बद्ध सरकारी निकायलगायत निजी क्षेत्रको समेत पूर्णरूपमा साथ र सहयोग रहने जनाएको छ ।