काठमाडौं । क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने सम्झौता गरेका छन् । दुई कम्पनीले गत फेब्रुअरीमा चीनको फुजियान प्रान्तको निङ्दे सहरमा आयोजित एक समारोहमा आफ्ना १० वर्षे रणनीतिक साझेदारीका लागि एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुरूप अब दुवै कम्पनीले व्यावसायिक सवारी साधनहरूलाई इलेक्ट्रिफिकेसन गर्ने काम सँगै गर्नेछन् । उनीहरूले प्रविधि विकास, अन्तर्राष्ट्रिय बजार विस्तार, सवारीसाधन र ब्याट्री सेवा र सम्पूर्ण उद्योग प्रणाली निर्माणमा आ–आफ्नो क्षमता प्रयोग गरेर फलदायी साझेदारी गर्ने योजना बनाएका छन् । यो साझेदारी चीनको दुई ठूला कम्पनीहरू फोटोन मोटर (व्यावसायिक सवारी निर्माणकर्ता) र क्याटल (पावर ब्याट्री बनाउने कम्पनी) बीचको सहकार्य हो, यसले ग्रीन इनर्जीतर्फको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । साथै, यसले नयाँ ऊर्जामा आधारित व्यावसायिक सवारी प्रविधिको विकासमा गति दिने अपेक्षा गरिएको छ ।
फोटोन मोटर अहिले चीनको सबैभन्दा ठूलो व्यावसायिक सवारी निर्माता हो । सन् २०२१ मा यसले विश्वभर एक करोडभन्दा बढी गाडी बिक्री गर्दै चीनको अटोमोबाइल इतिहासमा छोटो समयमै यस्तो कीर्तिमान बनाउने चीनको स्वतन्त्र इन्टेलेक्चुअल प्रोपर्टी भएको पहिलो स्वदेशी ब्रान्डको रूपमा आफ्नो नाम बनाएको छ । फोटोनले लगातार २० वर्षसम्म चीनमा सबैभन्दा धेरै व्यावसायिक सवारी बेच्ने कम्पनीको स्थान कायम राखेको छ । यस्तै, क्याटल न्यु इनर्जी प्रविधि कम्पनी हो । क्याटलको प्रविधि र उद्योगसम्बन्धी अनुभवले गर्दा उसले लगातार व्यावसायिक सवारीमा सबैभन्दा धेरै ब्याट्री आपूर्ति गर्ने कम्पनीको स्थान बनाएको छ । यसको क्याटल टेकट्रान्स ब्रान्डले लजिस्टिक्स र सार्वजनिक यातायातका क्षेत्रमा विस्तृत उपयोगिताहरू प्रदान गर्दै बस, हल्का तथा भारी ट्रक र निर्माण उपकरणहरूको लागि लामो दूरी, फास्ट चार्जिङ र लामो आयु हुने ब्याट्री सोलुसन्स दिन्छ ।
चीनको सभ्यतामा आधारित भए पनि विश्व संस्कृतिलाई अँगाल्दै क्याटल र फोटोन मोटरले आपसी सहकार्यको माध्यमबाट समृद्धि फैलाउने उद्देश्य राखेका छन् । भविष्यमा क्याटलले अन्य उद्योग क्षेत्रका कम्पनीहरूसँग पनि सहकार्य गर्दै कमर्सियल भेहिकल ब्याट्री प्रविधिलाई अझ फैलाउने योजना बनाएको छ ।