काठमाडौं । वाणिज्य बैंक र विकास बैंकहरूको जस्तै फाइनान्स कम्पनीहरूको पनि गैर–बैंकिङ सम्पत्ति बढ्दै गएको छ । कर्जा असुलीमा समस्या देखिँदा फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति लगातार बढ्दै गएको छ ।
बैंकिङ प्रणालीमा निक्षेप बढेर अधिक तरलता छ । तर कर्जाको माग न्यून छ । विगतमा प्रवाह भएको कर्जा असुलीमा पनि बैंक तथा वित्तीय संस्थालाई समस्या परेको छ । त्यसैले कालोसूचीमा पर्ने ऋणीहरूको संख्या दैनिक सयौँको संख्यामा छ । ऋणीबाट नियमित सावाँव्याज असुली नहुँदा धितो लिलामीमा जानुपर्ने अवस्था आएको बैंकर बताउँछन् । अर्थतन्त्र सुस्त हुँदा घरजग्गाको कारोबार पनि सुस्ताएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाले लिलाम गरेको धितो बिक्री हुने अवस्था पनि न्यून छ ।
एउटै धितो लिलामी गर्नका लागि आधा दर्जनभन्दा बढी पटक सूचना जारी गर्दा पनि लिलाम सकार गर्ने व्यक्ति, संस्था वा कम्पनी पाउन मुस्किल रहेको बैंकर बताउँछन् । यस्तो अवस्थामा धेरैजसो फाइनान्स कम्पनीहरूले आफैँले स्वप्रयोजनका लागि वा पछि बिक्री गर्ने गरी गैर–बैंकिङ सम्पत्तिको रूपमा सकार गर्ने गरेका छन् । यही कारण पछिल्लो समय फाइनान्स कम्पनीको गैर–बैंकिङ सम्पत्ति निरन्तर बढ्दै गएको छ ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत बैंकिङ क्षेत्रमा बढ्दै गएको गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने घोषणा गरेको छ । तर बढ्दै गएको गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि त्यस्तो संयन्त्र पनि प्रभावकारी नहुने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको बैंकहरूको समग्र निक्षेप कर्जासम्बन्धी प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति बढेर दुई अर्ब ६७ करोड ३० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ३८ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको नौ महिनामा एक अर्ब २९ करोड रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा नेपाल फाइनान्सको गैर–बैंकिङ सम्पत्ति नौ करोड ४३ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति छ । गत आर्थिक वर्षको सोही अवधिमा छ करोड ७२ लाख ५० हजार रुपैयाँ गैर–बैंकिङ सम्पत्ति थियो । हाल सुधारोन्मुख अवस्थामा रहेको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्समा कम्पनीको गैर–बैंकिङ सम्पत्ति शून्य देखाइएको छ । गोर्खाज र गुडविल फाइनान्समा भने क्रमशः ३८ करोड ९५ लाख रुपैयाँ र ५७ करोड ९७ लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति छ । गत आवको सोही अवधिमा यी दुई फाइनान्सको गैर–बैंकिङ सम्पत्ति क्रमशः ३८ करोड ९५ लाख रुपैयाँ र १० करोड ४५ लाख हजार रुपैयाँ थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ५३ लाख रुपैयाँ बराबर गैर–बैंकिङ सम्पत्ति रहेको श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको सम्पत्ति अहिले पनि त्यति नै छ । बेस्ट र प्रोग्रेसिभ फाइनान्सको भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः २९ करोड ४७ लाख ५० हजार रुपैयाँ र २५ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति छ । गत आवको सोही अवधिमा यी दुई फाइनान्सहरूको गैर–बैंकिङ सम्पत्ति क्रमशः २८ करोड १९ लाख १० हजार रुपैयाँ र १२ करोड १७ लाख रुपैयाँ थियो ।
जानकी फाइनान्सको गैर–बैंकिङ सम्पत्ति यस आर्थिक वर्षको नवौँ महिनामा आठ करोड ३२ लाख ५० हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा ९७ हजार रुपैयाँ बराबर थियो ।
राष्ट्र बैंकका अनुसार पोखरा, सेन्ट्रल र मल्टिपर्पस फाइनान्समको गैर–बैंकिङ सम्पत्ति क्रमशः १८ करोड ८७ लाख ९० हजार रुपैयाँ, छ करोड १२ लाख ७० हजार रुपैयाँ र एक करोड ५८ लाख ३० हजार रुपैयाँ बराबर छ । गत आवको सोही अवधिमा यी कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति क्रमशः शून्य, एक करोड ७० लाख नौ हजार रुपैयाँ र एक करोड ११ लाख ७० हजार रुपैयाँ थियो । समृद्धि, क्यापिटल मर्चेन्ट र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको गैर–बैंकिङ सम्पत्ति क्रमशः १७ करोड १३ लाख ७० हजार रुपैयाँ, दुई करोड तीन लाख ४० हजार रुपैयाँ र १२ करोड ९८ लाख ६० हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा यी कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति क्रमशः १० करोड ८८ लाख ४० हजार रुपैयाँ, दुई करोड तीन लाख ४० हजार रुपैयाँ र शून्य रुपैयाँ बराबरको थियो । आईसीएफसी, मञ्जुश्री र रिलायन्स फाइनान्सको गैर–बैंकिङ सम्पत्ति क्रमशः तीन करोड ३८ लाख ३० हजार रुपैयाँ, ११ करोड ७३ लाख ४० हजार रुपैयाँ र २१ करोड ८२ लाख २० हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा यी कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति क्रमशः ४२ लाख ७० हजार रुपैयाँ, एक करोड ३४ लाख १० हजार रुपैयाँ र १३ करोड ३९ लाख ७० हजार रुपैयाँ थियो ।