दोलखा ,सार्वजनिक यातायात व्यवसायीले देशभर गरेको सार्वजनिक यातायातका सवारी बन्दको प्रभाव दोलखामा पनि देखिएको छ।सोमबार बिहान देखिनै लामोसाँघु जिरी राजमार्ग हुँदै चरिकोट(काठमाडौ र पुष्पलाल राजमार्ग हुँदै रामेछाप खुर्कोट-तराई चल्ने कुनैपनि सवारीका साधन नचले पछि निजी सवारीले यात्रु बोक्न थालेका छन्।
दोलखामा नियमित चल्ने यात्रुबाहक बस तथा समितिमा आबद्ध साना सवारी ठप्प भए पनि निजि सवारीले विभिन्न स्थानबाट यात्रुलाई गन्तव्यसम्म पुर्याउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ट्राफिक प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए।
दोलखा चल्ने दुई ठुला यातायात व्यवसायी संस्था पुर्वअरनि र रोल्वालिङ मार्फत चल्ने सबै सवारीका यात्रुबाहक ठप्प भएपनि मालवाहक सवारी र निजि सवारी भने चलिरहेको उनले जानकारी दिए।आइतबारनै बन्दको सूचना पाएकाले सडक तथा बजार क्षेत्रमा खासै यात्रुको चाप पनि नदेखिएको उनले बताए।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएसँगै सोमबार दोलखामा सामान्य यात्रुबाहेक अन्य यात्रामा ननिस्किएको पाइएको हो।