काठमाडौं । विश्व बैंकले नेपाललाई विद्युत् र सिँचाइ क्षेत्रका दुई आयोजना बनाउन २५ करोड ७० लाख अमेरिकी डलर ऋण दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको सञ्चालक समिति बैठकले विद्युत् र सिँचाइ क्षेत्रका दुई आयोजनामा ३५ अर्ब २० करोड रुपैयाँ बराबरको ऋण लगानी स्वीकृत गरेको हो ।
विश्व बैंकका अनुसार विद्युत् प्रवाह सुधार आयोजनाको लागि १२ करोड अमेरिकी डलर (१६ अर्ब ४४ करोड रुपैयाँ) र रानीजमरा–कुलरिया सिँचाइ आयोजना आधुनिकीकरणको लागि १३ करोड ७० लाख अमेरिकी डलर (१८ अर्ब ७६ करोड रुपैयाँ) ऋण लगानी स्वीकृत गरेको हो । विद्युत् प्रवाह सुधार आयोजनाअन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् सञ्जाल विस्तार र आपूर्ति सुधारको काम हुनेछ भने रानीजमरा–कुलरिया सिँचाइ आयोजनाअन्तर्गत वर्षभर सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
यो आयोजनाले कैलाली जिल्ला र सुदूरपश्चिम प्रदेशमा कृषि उत्पादनमा वृद्धि हुने र त्यस क्षेत्रको पर्यावरणमा देखिने असरप्रति सहनशीलता वृद्धि गर्ने अपेक्षा गरिएको छ । यसबाट करिब १७ हजार पाँच सय हेक्टर क्षेत्रमा सिँचाइ पुग्ने र एक लाख ६० हजार मानिस लाभान्वित हुने अनुमान गरिएको छ ।