काठमाडौं । करिब दुई दशकदेखि घरजग्गा तथा अपार्टमेन्ट निर्माण र सजावटको काम गर्दै आएको आरभी ग्रुपले राजस्व छली गरेको आन्तरिक राजस्व विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उक्त ग्रुपले राजस्व छली गरेको उजुरी तथा विभाग आफैँले पनि शंकास्पद कारोबार गरेको आशंकामा छानबिन सुरु गरेको स्रोतको दाबी छ । यद्यपि, छानबिन प्रारम्भिक चरणमै रहेको कारण कति कर निर्धारण गर्ने र जरिवाना लगाउने भन्ने बारेमा यकिन भइसकेको छैन । तर, आरभी ग्रुपले वास्तविक कारोबार लुकाएर कर छली प्रयोजनका लागि अर्कै विवरण कर कार्यालयमा बुझाउने गरेको देखिएको छ । छानबिनमा संलग्न कर अधिकृतहरू भने सञ्चारकर्मीको सम्पर्कमा आउन चाहँदैनन् ।
‘करको बारेमा मात्र होइन अन्य कुनै पनि विषयको छानबिन गर्ने अधिकारी आफ्नो जिम्मेवारी पूरा नभएसम्म सञ्चारमाध्यमको सम्पर्कमा आउन मिल्दैन र के देखियो भनेर प्रारम्भिक कुरा पनि भन्न मिल्दैन’, आन्तरिक राजस्व विभागका एक अधिकारीले भने, ‘यसमा त कर छलीको विषयमा छानबिन भइरहेको छ । यो गोप्य नै हुन्छ । छानबिनमा संलग्न अधिकृतहरू पूर्णरूपमा स्वतन्त्र हुन्छन् । छानबिनको क्रममा केही–केही विषयमा माथिल्लो तहका अधिकृतसँग परामर्श गर्न सक्छन् । त्यही बेला अनुसन्धान भइरहेको कम्पनीको यस्तो अवस्था आउनेवाला छ भनेर उनीहरूले अनौपचारिकरूपमा मात्र भन्न सक्छन् ।’ ती अधिकारीका अनुसार उक्त कम्पनीले कर कार्यालयमा बुझाएको कर विवरण साँचो छैन र धेरै नै जरिवाना तिर्नुपर्ने अवस्था देखिएको जानकारी छानबिनमा संलग्न अधिकृतहरूले माथिल्लो तहमा जानकारी गराएका छन् ।
विभाग स्रोतका अनुसार उक्त कम्पनीको हिसाबको बारेमा अहिले फुल अडिट सुरु गरिएको छ । फुल अडिटमा एक–एक गरेर आम्दानी तथा खर्चको विवरण तथा उसले बुझाएको सबै किसिमको करको विवरणका बारेमा छानबिन/अनुसन्धान भइरहेको छ । त्यो अनुसन्धान महिनौ लाग्छ । ‘अनुसन्धान गर्दै जाँदा छानबिनमा परेको कम्पनीलाई कागजात जुटाउने समय दिएका हुन्छौँ । उसले पनि थप समय पाउँछ । त्यति गर्दा पनि कागजात नजुटेको हकमा जरिवाना लाग्ने हो’, अर्का एक कर अधिकृतले भने ।
उजुरुकर्ताले भने उक्त आरभीको विषयमा छानबिनका लागि आन्तरिक राजस्व विभागको अतिरिक्त राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायतमा ताकेता गरेको स्रोतको दाबी छ । तर, एउटा सरकारी निकायले छानबिन सकेर अर्को निकायलाई यी–यी विषयमा छानबिन गर्नका लागि सिफारिस/अनुरोध गरेपछि त्यसको बारेमा थप छानबिन हुन्छ । तर, आन्तरिकबाहेक अन्य सरकारी निकायले सो कम्पनीको बारेमा उजुरी परेको कारण निगरानी भने बढाएको स्रोतको दाबी छ ।
आरभी ग्रुपअन्तर्गतका कम्पनीहरू युरेसियन इन्फ्रा, टाइम्स डेभलपर्स, आरभी इन्भेस्टमेन्ट र माउन्टेन भ्यु (कार्यविनायक होम्स)लगायतका कम्पनीहरूको कारोबार शंकास्पद भेटिएको स्रोतको दाबी छ ।
अडिटका क्रममा कैफियत फेलापरे विस्तृत अनुसन्धान हुने आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले बताएका छन् । आरभी ग्रुपले राजस्व छली गरी आर्जन गरेको रकम हुन्डीमार्फत भारतमा पठाई त्यहाँ आफन्तको नाममा आर भी इन्फ्राटेक एन्ड स्टक्चर्स कम्पनीमा लगानी गरेको भनेर उजुरी परेको बताइएको छ । तर त्यहाँसम्म अनुसन्धान पुगिनसकेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार आरभीले अर्नव इन्टरप्राइजेजमार्फत गरेको कारोबारमा नक्कली बिल प्रयोग गरेको फेला परेको हो । युरेसियन इन्फ्रा कम्पनीले खरिद नै नगरेका सामग्रीको विवरण अर्नव इन्टरप्राइजेज नामक अर्को कम्पनीबाट नक्कली बिलहरू तयार पारेर कर छली गरेको आशंका गरिएको छ । आरभी ग्रुपको कारोबारमाथि भइरहेको छानबिनका बारेमा बुझ्न कम्पनीका सञ्चालकहरू अनिशा अग्रवाल मित्तल, निश्चित मित्तललगायतसँग सम्पर्क गर्ने प्रयास गर्दा सञ्चालकहरू सम्पर्कमा आउन चाहेनन् । सम्पर्कमा आउनको लागि कार्यालयमा सन्देश छोड्दा समेत सञ्चालकहरू सम्पर्कमा आएनन् ।
कारोबारमाथि छानबिन जारी छ
मदन दाहाल-महानिर्देशक, आन्तरिक राजस्व विभाग
आरभी ग्रुपले नक्कली भ्याट बिलको प्रयोग गरी कारोबार गरेको भन्ने विषयमा आन्तरिक राजस्व विभागअन्तर्गत पुतलीसडक कार्यालयबाट आवश्यक छानबिन भइरहेको छ ।
उक्त ग्रुपको कारोबारमा नक्कली भ्याट बिल प्रयोग भएको हुन सक्ने आशंकामा आन्तरिक राजस्व कार्यालयले आरभी ग्रुपको विगतका आर्थिक वर्षहरूमा भएका कारोबारको फुल अडिट गर्ने कार्य सुरू गरिसकेको छ ।
कम्पनीको फुल अडिट गर्ने काम भइरहेकाले अडिटका क्रममा नक्कली कारोबार गरेको पाइए विस्तृत छानबिन गरी आवश्यक कारबाही हुन्छ । भ्याट बिल काटेर कारोबार देखाए भए पनि बिलअनुसारको सामान ढुवानी गरे नगरेको थाहा पाउन भेहिकल र कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) बारेमा पनि थप छानबिन हुनेछ ।