ढाका । बंगलादेशको केन्द्रीय बैंकले शेख हसिनाका बुबा एवं संस्थापक राष्ट्रपति शेख मुजीबुररहमानको तस्बिर हटाएर नयाँ मुद्रा प्रचलनमा ल्याएको छ । बंगलादेशको केन्द्रीय बैंकले आइतबार नयाँ एक हजार, ५० र २० टाका नोट जारी गरेको हो ।
केन्द्रीय बैंकले पाँच सय, दुई सय, एक सय र १० दरका नयाँ नोटहरु पनि चाँडै जारी गर्ने जनाएकोे छ । बंगलादेश केन्द्रीय बैंकका प्रवक्ता आरिफ हुसेन खानले नयाँ डिजाइनमा कुनै पनि व्यक्तिको तस्बिर नभएको बताएका छन् । यी नोटहरुमा देशका परम्परागत ठाउँका तस्बिर राखिएका छन् ।
नयाँ नोट जारी भए पनि पुराना नोट र सिक्का पनि चलनमा रहनेछन् । नयाँ नोटमा हिन्दू र बौद्ध मन्दिरहरुकोे तस्बिर पनि छापिने बताइएको छ । २० टाकाको नोटमा दिनाजपुरमा अवस्थित हिन्दू मन्दिर कान्ताजी मन्दिर र पहाडपुर गुम्बाको चित्र छ । ५० टाकाको नोटमा राजधानी ढाकामा अवस्थित अहसान मन्जिल दरबार र जैनुल आबेदिनको चित्र अंकित छ । एक हजारको नोटमा राष्ट्रिय सहिद स्मारक र राष्ट्रिय सभा भवनको तस्बिर राखिएको छ । तीनवटै टाकामा रोयल बंगाल टाइगर वाटरमार्क र बैंकको मोनोग्रामा छ ।