काठमाडौं । ट्रेड टावर लिमिटेडले जारी गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने मिति थप भएको छ । कम्पनीका अनुसार अब लगानीकर्ताले जेठ २० गते अर्थात् भोलिसम्म आवेदन दिन सक्नेछन् । यसअघि आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएको थियो ।
कम्पनीले जारी पुँजीको ४८ दशमलव ६९ प्रतिशतका दरले ३९ लाख ७१ हजार छ सय ९३ कित्ता साधारण सेयर सार्वजनिक निष्कासनको अनुमति पाएको हो । त्यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तीन लाख ९७ हजार एक सय ६९ कित्ता, सामूहिक लगानी कोषलाई एक लाख ९८ हजार पाँच सय ८५ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार चार सय ३४ कित्ता सेयर आरक्षित गरी बाँडफाँट गरिसकिएको छ ।