काठमाडौं । क्यानडास्थित क्यालगरी सहरमा सगरमाथा दिवस मनाइएको छ । गत मे २८ मा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरीस्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेत संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको अध्यक्षता च्याम्बरका अध्यक्ष समीर पाण्डेले गरेका थिए भने सञ्चालन च्याम्बरका सचिव किरण खरेलले गरेका थिए । कार्यक्रमका मुख्य अतिथि डेभ रोड्नी तथा मिङ्मा तेन्जिङ शेर्पा रहेका थिए । दुईपटक सगरमाथा आरोहण गरिसकेका रोड्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका विशेष सल्लाहकार समेत हुन् । रोड्नी अल्बर्टाले प्रान्तको पटक–पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिका समेत निर्वाह गरिसेका छन् ।
कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दाको अनुभवसहित प्रेरणादायक प्रस्तुतिसहितको शब्दचित्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका अर्का आकर्षणको रूपमा उपस्थित मिङ्मा शेर्पा सगरमाथा आरोही हुन् । उनले कार्यक्रममा हिमालय क्षेत्रको महत्व र आरोहणका बारेमा विचार राखेका थिए ।
नेपाल र क्यानडा दुवै देशका राष्ट्रिय गानबाट कार्यक्रमको शुभारम्भ भएको थियो भने नेपालको साङ्गीतिक प्रस्तुति पनि पस्किइएको थियो । कार्यक्रमका अतिथिहरूलाई च्याम्बरका सञ्चालक ध्रुव राईले खादा पहि¥याएका थिए भने च्याम्बरका अध्यक्ष समीर पाण्डेले खादासहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्यानडास्थित नेपाली राजदूत भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिडिओमार्फत प्रस्तुत गरिएको थियो । त्यसैगरी, नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्न्द्र सेढाईं तथा त्रिभुवन विश्वविद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा पशुपति न्यौपानेबाट प्राप्त शुभकामना सन्देशहरू भिडिओमार्फत प्रस्तुत गरिएको थियो ।
नेपालस्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सबीच सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ र नेपालस्थित यी संस्थाहरू र अल्बर्टा च्याम्बर मिलेर नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहकार्यको सुरूवात भइसकेको छ । कार्यक्रममा क्यालगरीस्थित नेवाः समाज, तामाङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस) का प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा च्याम्बरका अध्यक्षले पाहुनाहरूलाई स्वागत गरेका थिए । एनसीएसीका अध्यक्ष प्रकाश बस्याल, गैरआवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए । नेपाली मेला, २०२५ का संयोजक श्रीकान्त अर्यालले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालस्थित हिमालय क्षेत्र र विशेषगरी सगरमाथाको ऐतिहासिक महत्वसहितको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमको प्राविधिक संयोजन च्याम्बरका सञ्चालक विक्रम अधिकारीले गरेका थिए भने व्यवस्थापकीय जिम्मेवारीको भूमिका च्याम्बरका कोषाध्यक्ष अनन्त आचार्यले निभाएका थिए ।