काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको तीन अर्ब १४ करोड दुई लाख रुपैयाँ संस्थागत निक्षेपको रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको हो । लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले यही जेठ २२ गतेसम्म लिन चाहेको रकम र दिन चाहेको व्याजसहित प्रस्ताव पेस गर्न सक्नेछन् । केन्द्रीय बैंकले तीन सय ६६ दिन (जुन १७, २०२५ देखि जुन १७, २०२६ सम्म) सम्मका लागि लगानी गरिने जनाएको छ ।
लगानीको लागि छुट्याइएको रकममध्ये वाणिज्य बैंकहरूमा दुई अर्ब ५१ करोड २२ लाख, विकास बैंकहरूमा ४७ करोड १० लाख र फाइनान्स कम्पनीहरूमा १५ करोड ६० लाख रुपैयाँ लगानी गर्ने भएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेका बैंक तथा वित्तीय संस्थाले निक्षेप लिन पाउनेछन् । यसैगरी, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
राष्ट्र बैंकमा दुई निर्देशकको बढुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुई जना निर्देशकको बढुवा भएको छ । राष्ट्र बैंकका अनुसार निर्देशक डा. डिल्लीराम पोखरेल र दीर्घ रावल कार्यकारी निर्देशकमा बढुवा भएका हुन । राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशकमा दुई निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर भएको छ । पूर्वकार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठको अवकाशसँगै रिक्त कार्यकारी निर्देशक दरबन्दीमा गत साता निर्देशक डा पोखरेलको बढुवा भएको हो । कार्यकारी निर्देशक तुलसी घिमिरेको अवकाशपछि रिक्त दरबन्दीमा सोमबार निर्देशक दीर्घ रावलको बढुवा भएका हुन् ।
राष्ट्र बैंकका अनुसार सोमबार कार्यकारी निर्देशक भएका रावल भने बैंकिङ सुपरीवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् । बैंकिङ सुपरीवेक्षण बिभागको प्रमुख रहेका कार्यकारी निर्देशक रामु पौडेल मुद्रा व्यवस्थापन विभाग प्रमुख भएका छन् । त्यसैगरी मुद्रा व्यवस्थापनका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रवधि विभागको जिम्मा दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।