काठमाडौं । विश्व बैंकले कन्ट्री पार्टनरसिप फ्रेमवर्क सुरु गरेको छ । विश्व बैंकका अनुसार आगामी सात वर्षको यो फ्रेमवर्क रोजगारी सिर्जना र भवनहरूको प्राकृतिक प्रकोप प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित हुने छ ।
विश्व बैंकका कन्ट्री डिभिजन डारेक्टर डेभिड सिसलेनले भने, ‘रोजगारी सिर्र्जना गर्नु मात्रै हाम्रो उद्देश्य होइन, नेपालको दिगो र टिकाउ विकासका लागि पनि यो आवश्यक छ ।’ विश्व बैंकसँगको विगत ६० वर्षभन्दा पुराना सहकार्यले नेपालको विकासमा साझेदारको तथा निजी क्षेत्रका समस्याहरूको समाधानमा काम गर्दै आएको उनको भनाइ छ ।
फ्रेमवर्कअन्तर्गत विश्व बैंकले नेपाललाई कुल तीन खर्ब ६८ अर्ब नेपाली रुपैयाँ सहयोग गर्नेछ । यो रकम रोजगार सिर्जना, सबल सञ्जाल र सेवामा पहुँचलगायतका उपलब्धिका लागि परिचालन हुनेछ । साथै, प्राकृतिक प्रकोपको प्रतिरोधात्मक क्षमता बढाउन र जलवायु जोखिमको न्यूनीकरणका लागि पनि परिचालन हुने बताइएको छ ।
फ्रेमवर्कअन्र्तगत पहिलो चरणमा नीतिगत सुधार, पर्यटन, प्राविधिक सञ्जाल, संयुक्त सहरी विकासजस्ता रोजगार सिर्जनाका इन्जिनको रूपमा रहेका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।