काठमाडौं । केही दैनिक पत्रिकाका व्यवस्थापकहरूको मिलेमतोमा नेपाल सरकारका विभिन्न निकायबाट पत्रिकामा छापिनुपर्ने टेण्डर विज्ञापनमा केही पत्रिकाले बिल भुक्तानी प्रयोजनका लागि मात्र प्रकाशित गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
अख्तियारले तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र सह–लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालि तथा उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य भूषण कुमार सिंह, डच मिडिया प्रालि तथा उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने निर्देशक रवि अर्याल र प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्कीसहित पाँच जनाविरुद्ध अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
विशेष अदालतमा मुद्दा दर्ता गरेपछि अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको विज्ञप्तिअनुसार दुईजना सरकारी कर्मचारीविरुद्ध समान एउटै अभियोग र मिडियाका तीन जनाविरुद्ध अर्को समान अभियोग लगाएर कारबाहीको माग दाबी लिइएको छ ।
अख्तियारका अनुसार सरकारी कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृत यादव र सहलेखापाल दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिमको कैद र बिगोबमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
यस्तै, मिडियाका तीन जना सिंह, अर्याल र कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिमको कसुरजन्य कार्यको नगद तथा गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको भन्दै मुख्य कसुरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
अख्तियारले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार तिलाठी कोईलाडी गाउँपालिकाबाट आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेटअनुसार उक्त गाउँपालिकाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि ठेक्का नं. ०३/०७९/०८० देखि ०६/०७९/०८० सम्मको चार वटा ठेक्काको बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, नियमबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । तर, मिलेमतोमा उक्त विज्ञापन सार्वजनिकरूपमा प्रकाशित नगरी बिल भुक्तानी प्रयोजनाका लागि मात्र सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित गरेको अख्तियारले मंगलबार दर्ता गरेको मुद्दामा जिकिर गरेको छ ।
अख्तियारको दाबीअनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव, लेखा हेर्ने सह–लेखापाल दास, टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक सिंह, डच मिडिया प्रालिका निर्देशक अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कार्कीसमेतको आपसी मिलोमतो तथा योजनामा उक्त काम भएको हो ।
‘उक्त बोलपत्र आह्वान र आशयको सूचना लुकाइछिपाई, सार्वजनिकरूपमा प्रकाशन नगरीनगराई ठेक्का प्रयोजनार्थ अभिलेखमा राख्ने गरी सौर्य राष्ट्रिय दैनिक पत्रिकामा २०७९ चैत २३ को बोलपत्र आह्वानको सूचना र २०८० जेठ १२ गतेको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एक/एकप्रति मात्र प्रकाशित गरे/गराएको, उल्लेखित मितिमा प्रकाशित भनिएका सूचनाहरू प्रेस काउन्सिल नेपालको २०७९ चैत २३ को पत्रअनुसार प्रकाशन भएको नदेखिएको र उक्त पत्रिकाको पत्रिका व्यवस्थापन प्रणालीका पीडीएफ अभिलेख हेर्दा उल्लेखित मितिका कुनै पनि पृष्ठमा बोलपत्र आह्वान र खरिद आशयको सूचना प्रकाशित भएको नदेखिएको’, अख्तियारले मंगलबार विशेष अदालतमा दर्ता गरेको मुद्दामा भनेको छ, उक्त कार्यले सूचना विवरण लुकाउने कलुषित मनसायका साथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको सौर्य दैनिक पत्रिकाको सक्कल भनिएको पत्रिकाको प्रति साथै राखी झुट्टा बिल भरपाईलगायतका कागजातहरूको आधारमा तीन लाख १६ हजार चार सय दश रुपैयाँ टाइम्स रिपब्लिक मिडिया प्रालिलाई भुक्तानी दिएको, टाइम्स रिपब्लिक मिडिया प्रालिले बोलपत्र र आशयको सूचना प्रकाशनको लागि डच मिडिया प्रालिलाई मौखिक दिएको र डच मिडिया प्रालिले उक्त सूचना प्रभाव दैनिकका प्रबन्ध निर्देशकलाई प्रकाशन गर्न दिई भुक्तानी लिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादी उपर सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’