चितवन । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई हरेक दिन बिहान सात बजेदेखि दस बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका छन् ।
विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका हुन् । रात्रि बसमा पश्चिम नेपालबाट आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।
धेरै क्यान्सर बिरामीका कथा सुनिसकेपछि उनले आफ्नो अटोबाट केही सहयोग गर्न सकिन्छ भने किन नगर्ने ? भनेर गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गरेका हुन् । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोखेका पनि छन् । उनले भने, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।” पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने भएकाले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैँले बस–बसमा गएर खबर गर्छन ।
सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन् । कोही बिरामी दश बजेपछि पनि भेटिए उनले आफन्तसहित तीन जना छन् भने एकजना बिरामीको भाडा लिदैनन । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउछन् । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउछन र त्यही आम्दानीले परिवार चलाएका छन् । विदेश जाने तयारीमा रहेका अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहेको बताए ।