काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण तथा लगानी अभिवृद्धिका लागि मंगलबार काठमाडौंमा छलफल भएको छ । जमलस्थित चेम्बर भवनमा आयोजित छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेकी राजदूत स्टेला न्होकोमोबीच द्विपक्षीय आर्थिक सहकार्यका विविध आयाममा संवाद भएको हो ।
अध्यक्ष अग्रवालले नेपाल–जिम्बावेबीच ४ दशकदेखि कूटनीतिक सम्बन्ध कायम रहेको स्मरण गराउँदै अब आर्थिक क्षेत्रतर्फ सहकार्यलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तन, असंलग्न नीतिलगायतका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा दुई देशले मिलेर काम गरिरहेको उल्लेख गर्दै अब निजी क्षेत्रबीचको सहकार्यमार्फत लगानी र व्यापार प्रवद्र्धन गर्नुपर्ने बताए ।
नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले आवासीय दूतावास स्थापना गरेर व्यापार, पर्यटन र ऊर्जा क्षेत्रमा सहकार्य गर्न सकिने प्रस्ताव राखे । “नेपालले हालै प्राप्त गरेको बीबी माइनस क्रेडिट रेटिङले अन्तर्राष्ट्रियस्तरमा लगानीकर्ताको विश्वास बढाएको छ,’ उनले भने ।
राजदूत न्होकोमोले नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताउँदै जिम्बावेका निजी क्षेत्रलाई त्यसतर्फ आकर्षित गराउने प्रतिबद्धता जनाइन् । उनले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू गम्भीर रहेको र यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताइन् ।
दुवै मुलुकका निजी क्षेत्रबीच बी–टु–बी वार्ता आयोजना गरेर लगानी, व्यापार तथा पर्यटन प्रवद्र्धनका अवसरहरू पहिचान गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन् । सो अवसरमा चेम्बरका पदाधिकारीले पनि जिम्बावे–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने खालका प्रस्ताव प्रस्तुत गरेका थिए ।