काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ऋणपत्रमा आवेदन दिने अवधि थप गरेको छ । सोअनुसार बैंकको सात वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’को निष्काशन छिटोमा जेठ २२ गते बन्द हुने भएको छ । यसअघि जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको निष्काशन बन्द हुने मिति यही जेठ २१ गते तोकिएको थियो ।
बैंकले प्रतिऋणपत्र एक हजार अङ्कित दरका पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् तीन अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् दुई अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गर्ने तयारी गरेको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये एक लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।
सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द ढिलोमा असार १ गते हुनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।