काठमाडौं । सेयरबजारलाई प्रभाव पार्ने सबै क्षेत्र सकारात्मक रहे पनि बजारमा दबाब देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमापक नेप्से परिसूचक पाँच दशमलव ९९ अंकले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झरेको छ ।
सात अर्ब ९७ करोड रुपैयाँ बराबरको एक करोड ७१ लाख आठ हजार आठ सय नौ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका दुई सय ४८ कम्पनीमध्ये एक सय ५३ वटाको सेयरमूल्य घटेको छ । बाँकीमध्ये ९४ वटाको सेयरमूल्य बढेको छ भने एउटाको स्थिर छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयर धितो कर्जाको जोखिमभार घटाएर बजारप्रति सकारात्मक नीति अवलम्बन गरेको छ । यस्तै, सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा कुनै नकारात्मक असर पार्ने नीति ल्याएको छैन । यसैगरी बैंकको व्याजदर पनि न्यून छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा सात खर्ब रुपैयाँभन्दा धेरै छ । यस्तो बेला पनि बजारमा सकारात्मक माहोल बन्न सकिरहेको छैन । किनभने अहिले पनि ठूला र संस्थागत लगानीकर्ताले ऋण लिएर सेयरबजारमा लगानी गर्न सकिरहेका छैनन् । जसले गर्दा बजारमा माग पक्ष कमाजोर देखिएको छ । यसैको असर सूचकमा देखिएको विश्लेषकहरू बताउँछन् ।
बजारमा सकारात्मक माहोल बन्न नसक्नुमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानीकर्ताले पर्खिरहेको हुन सक्ने अनुमान पनि गर्न सकिन्छ । यसबाहेक बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने विषय अहिले चर्चामा छ । यसको मनोवैज्ञानिक असर पनि बजारमा परेको हुन सक्ने विश्लेषकहरूको तर्क छ ।
बिहीबार जलविद्युत र लगानीबाहेक सबै समूह घटेका छन् । जलविद्युत समूह एक दशमलव १३ प्रतिशत र लगानी समूह शून्य दशमलव शून्य तीन प्रतिशत बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य चार प्रतिशत घटेको छ । त्यसपछि व्यापार समूह शून्य दशमलव ८५ प्रतिशत, जीवन बीमा शून्य दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन शून्य दशमलव ४८, बैंकिङ शून्य दशमलव ४३, लघुवित्त शून्य दशमलव ४०, फाइनान्स शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव १६, निर्जीवन बीमा शून्य दशमलव १२ र अन्य शून्य दशमलव ६७ प्रतिशत घटेको छ ।
बजार घटे पनि रिभर फल्स पावर लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेको छ । यस्तै, बुटवल पावर कम्पनीको नौ दशमलव ९८ प्रतिशत, पियोर इनर्जीको नौ दशमलव ९८, बरुण हाइडड्रोपावरको नौ दशमलव ९६ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य नौ दशमलव ५० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ओम मेगाश्री फर्मास्युटिकलसको सेयरमूल्य नौ दशमलव ३० प्रतिशत घटेको छ ।
राधी विद्युत्को सेयर कारोबार सबैभन्दा धेरै ९१ करोड २३ लाख रुपैयाँ बराबरको भएको छ । लगानीकर्ताको सम्पत्ति नौ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ । साधार सेयरतर्फको बजार पुँजीकरण पनि दुई अर्ब रुपैयाँ घटेर १४ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ ।