काठमाडौं । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ चैत मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २७ करोड १० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी २०८० चैत मसान्तको तुलनामा पाँच करोड ५० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो ।
२०८१ चैत मसान्तमा नेपाल फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख १० हजार रुपैयाँ रहेको छ । २०८० चैतमा नेपाल फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९५ लाख रुपैयाँ थियो । हाल सुधारको प्रक्रियामा रहेको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको चुक्ता पुँजी भने पछिल्लो अवधिमा २३ करोड ३३ लाख ३० हजार रुपैयाँ छ ।
गोर्खाज फाइनान्सले पनि गत चैतसम्म ८६ करोड ७९ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । एक वर्षअघि गोर्खाजको यस्तो चुक्ता पुँजी सोही परिमाणमा थियो । गुडविल फाइनान्सको चुक्ता पुँजी पनि ९४ करोड ६१ लाख २० हजार रुपैयाँ कायम छ । २०८० चैतमा पनि फाइनान्सको चुक्ता पुँजी अहिले जति नै थियो ।
श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको चुक्ता पुँजी २०८१ चैतमा एक अर्ब रुपैैयाँ कायम छ । एक वर्षअघि २०८० चैतमा ९८ करोड १६ लाख ८० हजार रुपैयाँ थियो । बेस्ट फाइनान्सले पनि अहिले ८९ करोड चार लाख २० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । २०८० चैतमा ८५ करोड ४८ लाख २० हजार रुपैयाँ चुक्ता पुँजी थियो ।
२०८१ चैतमा प्रोग्रेसिभ फाइनान्सको चुक्ता पुँजी ८४ करोड ८१ लाख १० हजार रुपैयाँ कायम छ । एक वर्षअघि पनि त्यति नै चुक्ता पुँजी थियो । जानकी, पोखरा र सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी क्रमशः ६९ करोड चार लाख ७० हजार रुपैयाँ, एक अर्ब आठ करोड २५ लाख ६० हजार रुपैयाँ र ९४ करोड ८८ लाख ८० हजार रुपैयाँ छ । २०८० चैतमा पनि यी फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी त्यति नै थियो । मल्टिपर्पस, समृद्धि र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको चुक्ता पुँजी पनि क्रमशः ६१ करोड दुई लाख, ८१ करोड ८९ लाख १० हजार र ९३ करोड ५० लाख पाँच हजार रुपैयाँ छ । एक वर्षअघि पनि यी कम्पनीहरूको चुक्ता पुँजी सोही बराबर थियो ।
गुह्येश्वरी मर्चेन्ट, आईसीएफसी, मञ्जुश्री र रिलायन्स फाइनान्सको चुक्ता पुँजी पनि २०८१ चैतमा क्रमशः एक अर्ब एक करोड २१ लाख ८० हजार, एक अर्ब १८ करोड ३४ लाख ७० हजार, एक अर्ब ३५ करोड १५ लाख ५० हजार र एक अर्ब १२ करोड १४ लाख ५० हजार रुपैयाँ छ । एक वर्षअघि पनि सोही चुक्ता पुँजी कायम थियो ।