काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई जग्गा खरिद बिक्रीमा पदीय दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना उपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालीग्राम सिंहसहित ९३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । पूर्वप्रधानमन्त्री नेपालसहित भ्रष्टाचार निवारण ऐन, २०५९ र भूमिसम्बन्धी ऐन, २०२१ विपरीत काम गरेको भन्दै मुद्दा दायर गरेको हो ।
अख्तियारले नेपालमाथि हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ । पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनीरूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन पूर्वप्रधानमन्त्री नेपालले निर्देशन दिएका थिए । अख्तियारले नेपालविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको हो ।
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी, नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचेको उजुरी परेसँगै अख्तियारले अनुसन्धान अघि बढाउँदा उक्त काम कानुनविपरीत भएको ठहर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पतञ्जलीले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरी, कम मूल्यमा समेत खरिद गरी बढी मूल्यमा बेचविखन गरी सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको ठहर गरेको छ । तत्कालीन प्रधानमन्त्री नेपालसहित तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विधेयक समितिका संयोजक प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मन्त्रिपरिषद्का सचिव स्व. माधवप्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिवहरू छविराज पन्त, जीतबहादुर थापा र लालमणि जोशी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिवहरू कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी र हपेन्द्रमणि केसी, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशवबहादुर बानियाँ, उपसचिव तथा शाखा अधिकृतहरू राजाराम थापा, सीताराम पोखरेल र बुद्धिबहादुर कार्कीलगायतलाई प्रतिवादी बनाइएको छ ।
पतञ्जली जग्गा प्रकरणका कसुरहरू
कसुरजन्य कार्य १
पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी, नेपालको नाममा हदभन्दा बढी जग्गा खरिद गर्ने गराउने कार्यअन्तर्गत बदनियत राखी गलत लिखत तयार गर्ने र गराउने काम गरेको आरोप छ । पतञ्जलीले योग पीठ तथा आयूर्वेद कम्पनी, नेपालले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ र दफा ८ ले तोकिदिएको अधिकतम हदबन्दीभन्दा बढीको जग्गा खरिद गरेको छ ।
उक्त कम्पनीले २०६४ मंसिर २४ गते जग्गा खरिद गर्न सुरु गरी २०६५ पुस २७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको साविक साँगा, महेन्द्रज्योति र चलालगणेशस्थान गाविसमा पाँच सय ५४ रोपनी पाँच आना एक पैसा जग्गाको लिखत पारित गरिएको थियो । त्यसपछि सोही लिखतको आधारमा जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत तयार गरी प्रमाणित गरिएको थियो ।
उक्त कम्पनीको नाममा पारित भएको साविक साँगा र महेन्द्रज्योति गाविसको कुल क्षेत्रफल तीन सय १४ रोपनी १५ आना दुई पैसा एक दाम रोपनी जग्गाहरूमध्ये दुई सय ५२ रोपनी तीन आना एक पैसा शून्य दशमलव २५ दाम जग्गाको जग्गाधनी गुठी संस्थान हिटिचोक सदावर्त गुठी भई उक्त कम्पनी मोही रहेको अवस्थामा गलत लिखत तयार गरेको भेटिएको अख्तियारको दाबी छ ।
कसुरजन्य कार्य २
मालपोत कार्यालय, काभ्रेपलाञ्चोकबाट पतञ्जलीका नाममा रहेको जफत तथा सरकारी सार्वजनिक कायम हुने प्रकृतिको हदभन्दा बढी जग्गाको धितो लिखत पारित गरी÷गराई बदनियत राखी तत्कालीन सनराइज बैंक (हाल लक्ष्मी सनराइज बैंक) बाट ऋण प्रवाह गरिएको थियो ।
मालपोत कार्यालय, काभ्रेपलाञ्चोकको रसिद नम्बर १०३७७ अनुरूप २०६५ फागुन १५ गतेको लिखतबाट पतञ्जलीका नाममा सनराइज बैंक लिमिटेडबाट स्वीकृत ओभरड्राफ्ट दुई करोड रुपैयाँको कजर्मा सुविधाको सुरक्षणवापत उक्त कम्पनीको नाममा रहेका साविक चलालगणेस्थान गाविसको दुई सय छ रोपनी चार आना दुई पैसा तीन दाम जग्गा सनराइज बैंक लिमिटेडको नाममा धितो लिखत पारित गरेको
भेटिएको छ ।
मालपोत कार्यालय काभ्रेपलाञ्चोकको रसिद नम्बर १०४५७ अनुसार २०६५ फागुन १६ गतेको लिखतबाट पतञ्जलीका नाममा सनराइज बैंक लिमिटेडबाट स्वीकृत ओभरड्राफ्ट आठ करोड रुपैयाँ मात्रको कर्जा सुविधाको सुरक्षणबापत जग्गावाला गुठी संस्थान हिटिचोक सदावर्त गुठीको नाममा दर्ता भई पतञ्जलीको नाममा मोही कायम भएको साविक साँगा र महेन्द्रज्योति गाविसको दुई सय ५२ रोपनी तीन आना, एक पैसा शून्य दशमलव २५ दाम र पतञ्जलीको नाममा रहेको साविक साँगा र महेन्द्रज्योति गाविसको ६२ रोपनी १२ आना दुई पैसा शून्य दशमलव २५ दाम जग्गा सनराइज बैंकको नाममा धितो लिखत पारित गरी गराइएको थियो । पतञ्जलीको नाममा रहेको हदभन्दा बढी जग्गा सुरक्षणबापत धितोमा राख्ने गरी तत्कालीन सनराइज बैंकबाट २०६५ फागुन १५ गते निर्णय भएको थियो ।
कसुरजन्य कार्य ३
राष्ट्रसेवकले आफ्नो ओेहोदाको दुरुपयोग गरी÷गराई पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले गैरकानुनी तरिकाले खरिद गरेको हदभन्दा बढी जग्गा जफत तथा सरकारी सार्वजनिक कायम हुनेमा उक्त सरकारी सार्वजनिक सम्पत्ति बदनियतपूर्वक व्यक्ति/कम्पनीमा हस्तान्तरण गरी गराई निजी प्रयोग प्रचलनमा ल्याएको पाइएको छ ।
२०६६ पुस २२ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न निर्णय भई मिति २०६६ पुस २४ गते प्रस्ताव पेश गरिएको थियो । २०६६ पुस २९ गते मन्त्रिपरिषद्बाट ‘मन्त्रिपरिषद्, विधेयक समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने’ भनी निर्णय गरे गरिएको थियो ।
मन्त्रिपरिषद्, विधेयक समितिबाट मिति २०६६ माघ १८ गते जुन प्रयोजनको लागि जग्गा खरिद गरिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने र खरिद गरिएको जग्गा बेचविखन गर्न नपाउने गरी पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ बमोजिम हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न स्वीकृति दिने भनी निर्णय भएको थियो ।
२०६६ चैत १ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई हदभन्दा बढी जग्गा बिक्री गरी सट्टापट्टा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न निर्णय भई २०६६ चैत १ गते प्रस्ताव पेश गरिएको थियो ।
मन्त्रिपरिषद्बाट २०६६ चैत ६ गते उक्त कम्पनीलाई बिक्री हुने जग्गाबाट प्राप्त रकम बराबरको जग्गा जुन प्रयोजनको लागि खरिद गरिएको हो सोही प्रयोजनमा मात्र प्रयोग हुने तथा २०६६ माघ १८ गते को विधेयक समितिको निर्णयको अधीनमा रहने गरी अरू प्रस्तावमा लेखिएबमोजिम गर्ने भनी निर्णय भएकोे थियो ।
२०६७ असार ८ गते तत्कालीन सनराइज बैंकबाट पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई स्वीकृत गरेको अधिविकर्ष कर्जाको क्रममा उक्त कम्पनीले बैंकलाई धितो पारित गरिदिएको जग्गा भोजराज शर्मा वाग्ले, मनु घिमिरे, ओम प्रकाश वंशल, ध्रुवराज थापा र जीवन राज कंडेलको नाममा कित्ताकाट गर्ने र निज व्यक्तिहरूको नाममा हक हस्तान्तरण भई गएको उक्त जग्गाहरू पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले लिएको कर्जामा पुनः धितो कायम गर्नेगरी निर्णय गरिएको थियो ।
कसुरजन्य कार्य ४
मालपोत कार्यालय, काभ्रेपलाञ्चोकबाट चौतारामा प्रालिको नाममा हदभन्दा बढी जग्गा खरिद गरी गराई उक्त हदभन्दा बढी जग्गा पतञ्जलीको नाममा कायम गर्ने गराउने कार्य भएको थियो । चौतारामा प्रालिको नाममा हदभन्दा बढी जग्गा खरिद गरे÷गराएको र उक्त हदभन्दा बढी जग्गा एकै दिनमा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा पारित गरे गरिएकोे थियो ।
मालपोत कार्यालय, काभ्रेपलाञ्चोकको ८७ ख, ८८ ख, २०६७ साउन ७ गतेको राजीनामा लिखतबाट चौतारामा प्रालिको ८५ रोपनी तीन अना दुई दाम जग्गा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाम पारित गराइएको थियो ।