रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नगरेको बताएका छन् ।
गृहनगर रौतहटको गौरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कार्यकालमा राष्ट्रलाई नोक्सानी हुने कुनै पनि निर्णय नगरेको बताए । ‘म प्रधानमन्त्री हुँदा कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन दिएको छैन’, उनले भने ‘सबै हेर्ने न्याय जिउँदै भएकाले न्यायभन्दा ठूलो र सत्यभन्दा ठूलो कुरा केही हुँदैन ।’ अध्यक्ष नेपालले कसैमाथि आरोप लगाउन नचाहेको उल्लेख गर्दै कानुनभन्दामाथि कोही पनि नभएकाले अब कानुनी प्रक्रियाबाट नै अगाडि बढ्ने बताए । अहिलेसम्म आफूले कुनै खराब नियतबाट राष्ट्रलाई हानी हुने गरी लाभ उठाएर भ्रष्टाचार नगरेको उनको भनाइ थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचविखन गरेको आरोप लगाउँदै नेपालविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । रासस